नेपाल अमेरिका पत्रकार संघको विधान-२०२२

 

यसअगाडि गरिएका सबै संशोधन समावेश गरी नेजाको संशोधित विधान-२०२२ पारित भएको छ । क्यालिफोर्नियाको सान फ्रान्सिस्कोमा जुलाई २३ र २४, २०२२ मा आयोजित १५औं साधारण सभाबाट पारित विधान-२०२२ तत्काल लागु हुनेछ ।

 

प्रस्तावना

नेपालमा पत्रकारिता र आमसञ्चारको क्षेत्रमा सङ्लग्न भई संयुक्त राज्य अमेरिका र क्यानाडामा स्थायी बसोबास गर्ने पत्रकार तथा सञ्चारकर्मीहरूको संख्या बढ्दै गएपछि आफ्नो पेसासँग सम्बन्धितहरूको साझा संस्थाको आवश्यकता महसुस गरिएअनुसार सन् २००१ देखि नै अनौपचारिक ढङ्गबाट सक्रिय पत्रकार एवम् सञ्चारकर्मीहरूको समूहले २००७ को अप्रिल १० देखि १२ सम्म​ भर्जिनियाको आर्लिङटनमा पहिलो अधिवेशन सम्पन्न गरेर पत्रकारिता क्षेत्रको स्थापित मान्यता र आचारसंहितालाई आत्मसात् गर्दै नेपाल अमेरिका पत्रकार संघ (नेजा) को स्थापना र गठन गरिएको हो ।

 

धारा १

नाम र परिभाषा

१.१.    नाम: यस संस्थाको नाम नेपालीमा नेपाल अमेरिका पत्रकार संघ र अंग्रेजीमा “Nepal America Journalists’ Association” रहनेछ र छोटकरीमा NEAJA (नेजा) भनिने छ । नेजा अमेरिकी कानुनबमोजिम विधिवत् दर्ता भएको संस्था हो ।

१.२    परिभाषा: नेजाको यो विधानमा उल्लेख भएका विभिन्न शब्दको परिभाषा देहायबमोजिम हुनेछ ।

१.२.१    ‘नेजा’ भन्नाले नेपाल अमेरिका पत्रकार संघ भन्ने बुझ्नुपर्दछ ।

१.२.२    नेजाको लोगो अनुसूची १० मा उल्लेख भएको नमुनाअनुसार हुनेछ । नेजाको लेटर प्याडलगायत आधिकारिक दस्तावेजहरूमा सो लोगो समावेश हुनेछ ।

१.२.३    ‘मिडिया’ भन्नाले कुनै पनि छापा एवम् विद्युतीय माध्यमबाट प्रकाशन, प्रसारणको काम गर्ने संस्था, पत्रकारहरूको सङ्गठन वा युनियन र प्रेस स्वतन्त्रता प्रवर्धन र वकालत गर्ने संस्थाहरूलाई जनाउनेछ ।

१.२.४    ‘सदस्य’ भन्नाले आमसञ्चार माध्यममा आबद्ध रहेका सम्पादक, भाषा-सम्पादक, रिपोर्टर, स्तम्भकार, कार्टुनिस्ट, फोटो पत्रकार, समाचारमूलक कार्यक्रमको निर्माता वा आमसञ्चारसम्बन्धी अध्यन वा अध्यापन कार्यमा संलग्न रहेको र नेजाको सदस्यता बहाल रहेको व्यक्तिलाई जनाउने छ ।

१.२.५    ‘कार्यसमिति’ भन्नाले नेजाको अधिवेशनबाट निर्वाचित  एवम् मनोनीत पदाधिकारी र सदस्यलाई जनाउने छ ।

१.२.६    ‘पदाधिकारी’ भन्नाले अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष र क्षेत्रीय संयोजकहरू समेतलाई जनाउने छ ।

१.२.७    ‘कार्यकाल’ भन्नाले नेजा कार्यसमितिको दुई वर्षको कार्यकाल सम्झनुपर्छ ।

धारा २

उद्देश्यहरू

नेजाको देहायका उद्देश्यहरू रहने छन्-

२.१ उत्तर अमेरिकामा रहेका नेपाली सञ्चारकर्मी, सञ्चारविज्ञहरू, आमसञ्चार एवम् पत्रकारिता विषयका प्राध्यापक/विद्यार्थीमार्फत नेपाली पत्रकारिता, भाषा, साहित्य, कला, संस्कृति, विज्ञान, आर्थिक, सामाजिकलगायतका विषयहरूमा अमेरिकी तथा नेपाली समाजमा
प्रचार-प्रसार गर्ने ।

२.२ स्वतन्त्र प्रेसको विश्वव्यापी मान्यता र आचरणको परिपालन गर्ने तथा व्यावसायिक पत्रकारिता र सामाजिक हितको पक्षमा वकालत गर्ने ।

२.३ पत्रकार र सञ्चारमाध्यमहरूको हक, अधिकार र स्वच्छ पत्रकारिताको प्रव​र्धन एवम् विकासमा क्रियाशील रहने ।

२.४ विपत्तिमा परेका नेपाली सञ्चारकर्मी र नेजाका सदस्य तथा उनीहरूका आश्रित परिवारलाई आवश्यकता हेरेर संस्थाको आर्थिक कोषमार्फत आर्थिक तथा अन्य सहयोग गर्ने ।

२.५ मानव अधिकार र व्यक्तिगत स्वतन्त्रता तथा अभिव्यक्ति स्वतन्त्रताका लागि पहल र प्रोत्साहनमा जोड दिने र समान उद्देश्य भएका समुदाय, मिडिया वा संघ-संस्थाहरूसँग सम्वाद, छलफल र सहकार्य गर्ने ।

२.६ सञ्चारसँग सम्बन्धित र अन्य क्रियाकलापमार्फत नेपाली समुदायको बृहत्तर हितका लागि काम गर्ने ।

२.७ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा रहेका पत्रकार तथा अन्य संघ-संस्थासँग सहकार्य, समन्वय गर्ने ।

२.८ विभिन्न व्यक्ति, कम्पनी तथा संघ-संस्थाहरूसँग समन्वय गर्दै फेलोसिप, इन्टर्नसिप, पुरस्कार, तालिम आदिको व्यवस्था गर्ने ।

२.९ आर्थिक कोषको निर्माण गरी कार्य सञ्चालन गर्ने ।

२.१० पत्रकारका विभिन्न संघ-संस्थासँग आवश्यकताअनुसार आबद्धता लिने, विभिन्न संघ-संस्थाहरूका कार्यक्रममा नेजाको प्रतिनिधिको रूपमा भाग लिई संस्थालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा परिचित गराउने ।

२.११ संस्थामा आवश्यक पर्ने अन्य कार्यहरू कार्यसमितिले निर्णय गरेअनुरुप गर्ने ।

२.१२ आफ्ना सदस्यहरूलाई अनुकूल भएसम्म सञ्चार गतिविधिमा सहभागिता जनाउन प्रोत्साहन गर्ने र सदस्यहरूको सञ्चार गतिविधिसँग सम्बन्धित कार्यहरूको अभिलेख राख्ने ।

 

धारा ३

सदस्यता

नेपालमा पत्रकारिता गरेर अमेरिका र क्यानाडामा रही  विभिन्न  सञ्चारमाध्यममा  कार्यरत  नेपाली  मूलका सञ्चारकर्मीहरू  नेजाको  विधान र उद्देश्यअनुरुप संस्थाको सदस्य बन्न सक्नेछन् । उत्तर अमेरिकामा आई बसोबास गर्ने तथा प्रेस स्वतन्त्रता र नेजाको मूल्य मान्यतामा प्रतिबद्ध पत्रकारिता र सञ्चारमाध्यमसँग​ सम्बन्धित रहेका, पत्रकारिता  तथा आमसञ्चारका  विद्यार्थी  विभिन्न  कलेज, विश्वविद्यालयमा प्राध्यापन गर्ने  र अध्ययनरत  विद्यार्थीले पनि  उनीहरूले चाहेमा संस्थाले तोकेको मापदण्ड पुरा गरेर सदस्यता लिन सक्नेछन् ।

नेजामा देहाय बमोजिमका सदस्य रहनेछन्-

३.१ साधारण सदस्य: उत्तर अमेरिकामा रहेका र धारा ३ मा उल्लेख भएअनुसार नेपाली मूलका पत्रकार/सञ्चारकर्मीहरू जसले नेपाली समुदायको बृहत्तर हितका लागि संघको नीति-नियममा रहेर काम गर्न चाहना राख्नेहरू संस्थाको साधारण सदस्य हुन सक्नेछन् ।

३.१.१  सदस्यताका लागि नेजाले तोकेको मापदण्डका आधारमा तोकिएको फर्म भरेर सदस्यता शुल्कबापत अमेरिकी डलर ७५ तिर्नुपर्नेछ ।

३.१.२ सदस्यता दुई वर्षका लागि मान्य हुनेछ ।

३.१.३ नयाँ सदस्यता लिनका लागि कम्तिमा एक वर्ष नेपालमा या अमेरिकामा सञ्चालित सञ्चारमाध्यममा काम गरेको प्रमाणसहित विधानको धारा ५ उपधारा ५.४ अनुसार गठित सदस्यता वितरण तथा छानबिन समितिमा रितपूर्वक निवेदन पेस गर्नुपर्ने छ । आवश्यक प्रमाणबिना पेस भएका निवेदनउपर कुनै कारबाही हुने छैन​ र छानबिन समितिले त्यस्तो निवेदन अस्वीकार गर्नेछ ।

३.१.४ सदस्यता नवीकरण गर्नका लागि नेजाका उद्देश्यविपरीत गतिविधि गरेको वा आमसञ्चार माध्यमका नीतिविपरीत काम गरेको वा प्रचलित कानुनको उल्लङ्घन गरेको हुनु हुन्न ।

३.१.५ अमेरिकामा व्यावसायिक नेपाली पत्रकारिताको विकास नभएको परिप्रेक्ष्यमा नेपाल वा अमेरिकामा रहेका सञ्चारमाध्यामको सिफारिसको आधारमा मात्र सदस्यता प्रदान गरिने
छैन । सम्बन्धित व्यक्तिले पत्रकारिता गरेको प्रमाण वा  पत्रकारिता गरेको सामाजिक पहिचानका आधारमा पनि सदस्यता प्रदान गर्न सकिनेछ ।

३.१.६ साधारण सभाले सदस्यता शुल्क र मापदण्डको प्रक्रियामा भने परिवर्तन गर्न सक्नेछ ।

३.१.७ साधारण सभा वा अधिवेशनमा भाग लिनका लागि सभाको तीन महिनाअगावै नवीकरण शुल्कबापतको ५० डलर तिरेर​ नवीकरण गरेको हुनुपर्दछ​ ।

३.१.८ साधारण सभा वा अधिवेशन हुनुभन्दा तीन महिना अगाडि नवीकरण नगरे वा नयाँ सदस्यता प्राप्त नगरेको तर साधारण सभा वा अधिवेशनभन्दा अगावै सदस्यता प्राप्त गरेको व्यक्तिले पर्यवेक्षकको रुपमा मात्र साधारण सभामा भाग लिन सक्नेछ ।

३.२ आजीवन सदस्य: साधारण सदस्यता प्राप्त सदस्यले आजीवन सदस्यता लिन चाहेमा एक पटक ३०० अमेरिकी डलर तिरेर आजीवन सदस्यता लिन सक्नेछन् ।

३.३ मानार्थ सदस्यता:  अमेरिका र क्यानाडामा रही नेपाली सञ्चार क्षेत्रको विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याएका नेपाली, गैरनेपाली वा नेपाली मूलका व्यक्तिलाई मानार्थ सदस्यता प्रदान गर्न सकिनेछ । तर, मानार्थ सदस्यता लिएका व्यक्ति निर्वाचन प्रक्रियामा सहभागी हुन सक्ने छैनन् ।

३.४ एसोसियट सदस्य: पत्रकारिता विषयको अध्ययन, अध्यापन गरिरहेका तर वर्तमानमा पत्रकारिता नगरेका, नेपाल र अन्य स्थानमा पत्रकारिता गरेका तर वर्तमानमा पत्रकारिता नगरेका व्यक्तिले कार्यसमितिले तय गरेको मापदण्ड पूरा गरी संस्थाको एसोसियट सदस्यता लिन सक्नेछ्न् । तर, एसोसिएट सदस्यता लिएका व्यक्ति निर्वाचन प्रक्रियामा सहभागी हुन सक्ने छैनन् ।

३.४.१ एसोसियट सदस्यता शुल्क ५० डलर रहनेछ र यसको अवधि दुई वर्षको रहनेछ ।

३.५ सदस्यता खारेज: कुनै पनि सदस्यले तलका कुनै क्रियाकलाप गरेको खण्डमा सदस्यता खारेज गर्न सकिनेछ ।

३.५.१ कुनै व्यक्तिले संस्थाको हितविपरीत कार्य गरेको प्रमाणित भएको अवस्थामा आचारसंहिता समिति र कार्यसमितिको सिफारिसअनुसार साधारण सभाले सदस्यता खारेजीको विषयमा निर्णय गर्नेछ ।

३.५.२ कुनै प्रकारको नैतिक पतन, अपराध वा गैरकानुनी क्रियाकलापमा संलग्न भएको अदालतबाट प्रमाणित भएको अवस्थामा कार्यसमितिले सदस्यता खारेज गर्न सक्छ तर यसका लागि उपयुक्त स्पष्टीकरणको अवसर भने प्रदान गरिनेछ ।

 

धारा ४

कार्यसमिति

४.१ कार्यसमिति: निर्वाचन प्रकृयाबाट चुनिएर आउने नेजा कार्यसमितिको कार्यकाल दुई वर्षको हुनेछ । कार्यसमितिमा एक अध्यक्ष, एक उपाध्यक्ष, एक महासचिव, एक सचिव, एक कोषाध्यक्ष, पाँच क्षेत्रीय संयोजक, (अमेरिकाको  उत्तर-पूर्वी,  दक्षिण,  पश्चिम,  डिसी  मेट्रो  र क्यानाडा) र  सातजना सदस्यसहित १७ (सत्र)  जनाको कार्यसमिति हुनेछ ।

४.१.१ सबै पदाधिकारी र चारजना कार्यसमिति सदस्य अधिवेशनमार्फत निर्वाचित वा निर्विरोध भएर आउनेछन् । अध्यक्ष पदमा निर्वाचन भएको खण्डमा दोस्रो स्थानमा रहने उम्मेदवार स्वतः कार्यकारी समितिको सदस्य हुनेछ ।

४.१.२ निवर्तमान अध्यक्ष कार्यसमितिमा अध्यक्षपछिको बरीयतामा रहने पदेन सदस्य हुनेछन् ।

४.१.३ कार्यसमिति निर्विरोध निर्वाचित भएको अवस्थामा बाँकी हुन आउने दुई कार्यसमिति सदस्यमा कम्तिमा एक महिलासहित मनोनयन गरिनेछ भने अध्यक्ष पदमा निर्वाचन भएको अवस्थामा रिक्त रहने एक स्थानमा महिलालाई मनोनयन गरिनेछ ।

४.१.४ अमेरिका वा क्यानाडाभर कार्यक्षेत्र भएका र राज्यस्तरमा शाखा वा सञ्जाल भ​एका संस्थाको कार्यसमितिमा भएकाले नेजा कार्यसमितिको कुनै पनि पदमा निर्वाचित वा मनोनीत हुन पाउने छैनन् । यदि यसो भएमा नेजामा निर्वाचित वा मनोनीत व्यक्तिले सो पदमा रहन चाहेमा निजले अन्य संस्थाबाट राजीनामा गरेको आधिकारिक प्रमाण बढीमा एक महिनाभित्र नेजा कार्यसमितिलाई उपलब्ध गराउनुपर्नेछ । अन्यथा निजको नेजाको पद स्वतः खारेज
हुनेछ । तर, स्थानीय सहर वा राज्यस्तरमा रहेका संस्थाको कार्यसमितिमा रहेर​ काम गर्न उल्लेखित प्रावधानले बन्देज गर्ने छैन ।

४.१.५ कार्यसमितिको कार्यकाल दुई वर्षको हुनेछ । एकै पदमा दुई कार्यकालभन्दा बढी समय रहन पाइने छैन ।

४.१.६ नेजा संयुक्त राज्य अमेरिकाको कानुनअनुसार सञ्चालन हुनेछ । तसर्थ, कार्यसमितिमा रहने सबै पदाधिकारी र सदस्य उत्तर अमेरिकामा वैधानिक रुपमा बसोबास गर्ने अनुमति पाएका व्यक्तिहरू हुनुपर्नेछ । उम्मेदवारी आवेदन गर्दा उम्मेदवार स्वयंले नै आफू अमेरिकामा बसोबास गर्न कानुनतः योग्य रहेको स्वघोषणा गर्नुपर्नेछ । यदि, निर्वाचित भएपश्चात् कुनै उम्मेदवारको सन्दर्भमा उजु्री परे सम्बन्धित निकायमार्फत छानबिन प्रक्रिया अघि बढाउन सकिनेछ ।

४.४ राजीनामा:  कार्यसमितिका अध्यक्षबाहेकका कुनै पनि सदस्यले राजीनामा दिन चाहेमा कारण खुलाई अध्यक्षमार्फत कार्यसमितिसमक्ष लिखित राजीनामा दिन सक्नेछन् । सो राजीनामा अध्यक्षले कार्यसमितिमार्फत स्वीकृत गर्नेछन् ।

४.४.१ अध्यक्षले राजीनामा दिन चाहेमा उपाध्यक्षमार्फत कार्यसमितिमा राजीनामा दिनुपर्नेछ । र, त्यस्तो राजीनामा कार्यसमितिले स्वीकृत गर्नेछ । अध्यक्षको राजीनामा स्वीकृत भएको अवस्थामा कार्यसमितिको उपाध्यक्ष वा वरिष्ठ पदाधिकारीले कार्यबाहक वा निमित्त अध्यक्षको जिम्मेवारी सह्माल्नेछन् ।

४.५ पदपूर्ति: कुनै कारणवश पद रिक्त हुन गएको अवस्थामा कार्यसमितिले विधानअनुसार योग्यता पुगेको व्यक्ति छनोट गरी पदपूर्ति गर्न सक्नेछ । अध्यक्ष वा महासचिव वा कार्यसमितिलाई जानकारी नदिई लगातार तीन पटकसम्म कार्यसमिति बैठकमा उपस्थित नहुने पदाधिकारी तथा सदस्यको पद स्वतः खारेज हुनेछ र रिक्त हुन गएको पदमा कार्यसमितिले विधानअनुसार योग्यता पुगेको व्यक्ति छनोट गरी पदपूर्ति गर्न सक्नेछ ।

४.६ कार्यसमितिको काम, कर्तव्य अधिकार

४.६.१ कार्यसमितिले नेजाको आधिकारिक प्रतिनिधित्व गर्दछ र साधारण सभापछिको शक्तिशाली निकायको रुपमा काम गर्नेछ । साधारण सभाले पारित गरेका प्रस्ताव र निर्णयहरूको कार्यान्वयन गर्नेछ ।

४.६.२ संस्थाको बृहत्तर हितका लागि काम गर्ने ।

४.६.३ कार्यसमितिले आफ्नो नीति-कार्यक्रम बनाएर लागु गर्ने ।

४.६.४ निर्वाचनबाट पूर्ति नभएका पदहरूको पदपूर्ति गर्ने ।

४.६.५ भौतिक वा भर्च्युअल माध्यमबाट नियमित बैठकको आयोजना गर्ने र आवश्यकताअनुसार निर्णय गर्ने र कार्यान्वयन गर्ने । कार्यसमितिको औपचारिक बैठकमा कम्तिमा ५१ प्रतिशत सदस्य सहभागी भएको हुनुपर्नेछ । बैठकमा सहभागी संख्या कम्तिमा ५१ प्रतिशत नपुगेमा त्यस बैठकका निर्णय अनुपस्थित सदस्यहरूलाई इमेल, मोबाइल सन्देश, लिखित पत्र वा मौखिक जानकारी गराएर समर्थन प्राप्त गरेपछि मात्र मान्य हुनेछन्  ।

४.७ कार्यसमितिका पदाधिकारी र सदस्यको काम कर्तव्य र अधिकार

४.७.१ अध्यक्ष: अध्यक्षले नेजाका सबै औपचारिक कार्यक्रमको र कार्यसमिति बैठकको अध्यक्षता गर्नेछन् । साथै, सम्पूर्ण रुपमा नेजाको गतिविधिको नेतृत्व, अनुगमन तथा मूल्याङ्कन गर्ने दायित्व रहनेछ । साथै, अध्यक्षले नेजाको विषयमा परेका कुनै कानुनी विवाद एवम् मुद्दाहरूमा आफैँ जाने वा प्रतिनिधि
तोक्नेछन् ।

४.७.२ उपाध्यक्ष: उपाध्यक्षले अध्यक्षले प्रत्यायोजन गरेका कामहरू गर्नेछन् । साथै, कार्यसमितिले तोकेका कामहरू पनि गर्नेछन् । अध्यक्षको अनुपस्थितिमा अध्यक्षले गर्ने सम्पूर्ण काम
गर्नेछन् ।

४.७.३ महासचिव: महासचिवले नेजाको बैठकका सबै निर्णयको माइन्युट तयार पार्ने र सङ्गठनका सम्पूर्ण गतिविधि चुस्त दुरुस्त राख्नु पर्नेछ । सदस्यहरूको विवरण अद्यावधिक गर्ने, वार्षिक साधारण सभा र अधिवेशनको सूचना तीन महिनापहिले नै सदस्यहरूलाई औपचारिक जानकारी गराउने महासचिवको जिम्मेवारी हुनेछ र अध्यक्षको निर्देशनबमोजिम कार्यसमितिको बैठकको आह्वान गर्नुपर्नेछ । महासचिवले वार्षिक साधारण सभा/अधिवेशनमा नेजाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुपर्नेछ ।

४.७.४ सचिवः सचिवले महासचिवलाई सहयोग गर्नेछन् ।  साथै,  महासचिवको  अनुपस्थितिमा महासचिवले गर्ने सम्पूर्ण जिम्मेवारीका काम र कार्यसमितिले तोकिदिएका अन्य कार्यहरू गर्नेछन् ।

४.७.५ कोषाध्यक्ष: कोषाध्यक्षले सबै प्रकारका आर्थिक कोषको व्यवस्था गर्ने, संघको भुक्तानी दायित्व  लिने, कार्यसमितिले अनुमोदन गरेका खर्चको  भुक्तानी गर्ने, नेजाको नाममा रहेको संयुक्त बैङ्क खाता सञ्चालन गर्नेछन् । साथै, खर्च  तथा  आयको  विवरण  चुस्त, दुरुस्त  राखेर  त्यसको  प्रतिवेदन आवश्यकताअनुसार कार्यसमिति र वार्षिक साधारण सभा/अधिवेशनमा  पेस  गर्नेछन् ।

४.७.५.१  नेजाको  वित्तीय  विवरण  स्वतन्त्र  लेखापरीक्षकबाट लेखापरीक्षण गराएर साधारण सभामा पेस गर्नुपर्नेछ ।

४.७.५.२  कोषाध्यक्षलाई संस्थाको अत्यावश्यक र भैपरी आउने फुटकर खर्चका लागि बढीमा पाँच सय अमेरिकी डलरसम्म खर्च गर्न सक्ने अधिकार हुनेछ । तर, सो खर्च त्यसपछिको कार्यसमितिको पहिलो बैठकबाट अनुमोदन गराउनु पर्नेछ ।

४.७.६ क्षेत्रीय संयोजक: सबै क्षेत्रीय संयोजकले सम्बन्धित क्षेत्रमा नेजाको सांगठनिक विस्तार र  हितका  लागि  सक्रियतापूर्वक  काम  गर्नेछन् । क्षेत्रीय  संयोजकहरूले आ-आफ्नो  क्षेत्रमा कार्यक्रम सञ्चालन,  स्थानीय  सदस्यहरू परिचालन र आवश्यकतानुसार स्थानीय  संघ-संस्थामा नेजाको  तर्फबाट प्रतिनिधित्व गर्नेछन् । कुनै पनि क्षेत्रमा हुने कार्यक्रम सोही क्षेत्रको क्षेत्रीय संयोजकको संयोजनमा मात्र गरिनेछ । कार्यसमितिले ठहर गरेको कार्यक्रम गर्न क्षेत्रीय संयोजक सो अवस्थामा असमर्थ भएमा कार्यसमितिले अन्य व्यवस्था गरी कार्य सम्पादन गर्नेछ । क्षेत्रीय संयोजकहरूले देहायबमोजिमका राज्यहरूअनुसार समन्वय र सहकार्य गर्नुपर्नेछ ।

४.७.६.१ डीसी महानगर क्षेत्र: वासिङ्गटन डीसी, वेस्ट भर्जिनिया, भर्जिनिया, नर्थ क्यारोलाइना, साउथ क्यारोलाइना, मेरिल्यान्ड, डेलावर, केन्टकी, आयोवा, टेनसी, जर्जिया, फ्लोरिडा, इलिनोय​, इन्डियाना, मिजोरी, ओहायो, मिसिगन, विस्कन्सिन, र​ मिनसोटा ।

४.७.६.२ पूर्व क्षेत्र: न्युयोर्क, कनेक्टिकट, पेन्सलभेनिया, न्युजर्सी, रोड आइल्यान्ड, भरमन्ड, म्यासाचुसेट्स, न्युह्याम्सर, मेन, अमेरिकन समोवा, गुवाम, नर्दर्न मरिन आइल्यान्ड, पोर्टोरिको, र​ भर्जिन आइल्यान्ड ।

४.७.६.३ मध्य क्षेत्र: कोलोराडो, टेक्सस, ओक्लोहमा, न्यु मेक्सिको, लुजियाना, मिसिसिपी, अलावामा, केन्सास, नेब्रास्का, साउथ डाकोटा, नर्थ डाकोटा, मोन्टाना, अर्कान्सा, र​ वोयोमिङ ।

४.७.६.४ पश्चिम क्षेत्र: क्यालिफोर्निया, नेभाडा, एरिजोना, हवाई, अलास्का, ओरेगन, उटा, आइडावा, र​ वासिङ्गटन ।

४.७.६.५ क्यानाडा: क्यानाडाको सम्पूर्ण क्षेत्र ।

४.७.७ कार्यसमिति सदस्य:  कार्यसमितिका सदस्यहरूले नेजाको हितका लागि सक्रियतापूर्वक कार्य गर्नेछन् । सदस्यहरूले कार्यसमितिले प्रदान गरेका जिम्मेवारीलाई पूरा गर्नेछन । कार्यसमितिका निर्णयहरू र अध्यक्षले तोकेका आवश्यक जिम्मेवारी पनि पूरा गर्नुपर्नेछ ।

 

धारा ५

सचिवालय, सल्लाहकार समिति, अध्यक्ष परिषद् र विषयगत समिति

५.१ सचिवालय: कार्यसमितिका अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष रहेको एक सचिवालयको गठन गरिनेछ ।

५.१.१ सचिवालयले तत्काल भैपरी आउने कुनै निर्णय गर्नेछ । तर, त्यस्तो निर्णयलाई सचिवालय बैठकलगत्तै पछिको कार्यसमिति बैठकबाट अनुमोदन गराउनु पर्नेछ ।

५.१.२ यदि सचिवालय समितिले गरेको निर्णय कार्यसमितिबाट अनुमोदन हुन नसकेमा स्वतः बदर हुनेछ ।

५.२ सल्लाहकार समिति: नेजाको कार्यसमितिले आफ्नो कार्यकालभरका लागि मात्र कायम रहने गरी आवश्यकतानुसार बढीमा ७ जना सल्लाहकार मनोनयन गर्न सक्नेछ । त्यस्तो मनोनयन गर्दा कार्यसमितिले निम्नानुसारको प्रावधानलाई पालना गर्नुपर्नेछ ।

५.२.१ नेजाको सदस्यता लिएको पाँच वर्ष भएको हुनुपर्नेछ । सदस्यता अध्यावधिक रहेको र पछिल्ला तीनमध्ये एक साधारण सभा वा अधिवेशनमा सहभागी भएको हुनुपर्नेछ ।

५.२.२ सात जनाभन्दा बढी नहुने र कम्तिमा एकजना महिला सदस्य हुने गरी मनोनयन गर्नुपर्नेछ ।

५.२.३ नेजाले आवश्यकतानुसार सल्लाहकारहरूलाई कार्यसमितिको बैठकमा आमन्त्रण गर्नेछ । तर, सल्लाहकारहरूले बैठकमा मत विभाजन भएको बेला मतदानमा भाग लिन सक्ने छैनन् ।

५.२.४ मानार्थ सदस्यहरूबाट सल्लाहकार मनोनयन गर्दा विधानको उपधारा ५.२.१ मा भएको प्रावधान लागु हुने छैन ।

५.२.५ सल्लाहकार समितिले नयाँ कार्यसमिति गठन प्रक्रियाका लागि गठन गरिएको निर्वाचन समितिलाई पनि आवश्यकताअनुसार सहयोग गर्ने र निर्वाचन प्रक्रियामा तत्कालीन कार्यसमिति विघटन भएपछि नयाँ गठन नहुन्जेलसम्मका लागि वैकल्पिक कार्यसमितिका रुपमा अध्यक्षमण्डलको काम गर्नेछ ।

५.२.६ अध्यक्षमण्डलको अध्यक्षता विघटित कार्यसमितिका अध्यक्षले गर्नेछन् ।

५.२.७ यदि अध्यक्ष पुन: उम्मेदवार बन्ने भएको खण्डमा उनको सिफारिसमा सल्लाहकारमध्येबाट एक जनालाई तोक्नेछन् ।

५.२.८  विशेष परिस्थितिमा सल्लाहकार समितिले धारा ८ मा व्यवस्था भएअनुसार अविश्वास प्रस्तावउपर छलफल गर्नुपरेमा त्यसको सञ्चालन गर्ने र उपधारा ८.२ अनुसारको जिम्मेवारीसमेत वहन गर्नुपर्नेछ ।

५.३ अध्यक्ष परिषद्: नेजाका सबै पूर्वअध्यक्ष समावेश हुने गरी एक अध्यक्ष परिषद् गठन गरिनेछ । अध्यक्ष परिषद् संघको अभिभावकीय भूमिकामा रहनेछ । अध्यक्ष परिषद्ले नेजाको कार्यसमितिको आवश्यकतानुसार कार्यसमितिलाई सुझाव/सल्लाह प्रदान गर्नेछ ।

५.३.१ अध्यक्ष परिषद्को बैठक बसेको अवस्थामा सबैभन्दा पुराना पूर्वअध्यक्षले अध्यक्षता गर्नेछन् भने निवर्तमान अध्यक्षले सदस्य-सचिवको जिम्मेवारी बहन गर्नेछन् ।

५.३.२ निवर्तमान अध्यक्ष कार्यसमितिको पदेन सदस्यसमेत हुने भएकाले कार्यसमितिका लागि सुझाव/सल्लाह दिनुपरेको बेलामा उनैमार्फत नेजालाई औपचारिक जानकारी गराउने व्यवस्था अध्यक्ष परिषद्ले गर्नुपर्नेछ ।

५.४ विषयगत समिति: नेजाको कार्यसमितिले आफ्नो कार्यकालभरका लागि मात्र कायम रहने गरी आवश्यकतानुसार विभिन्न विषयगत समिति गठन गर्नेछ । खासगरी विधान समिति, सदस्यता छानबिन तथा सिफारिस समिति, आचारसंहिता अनुगमन समिति, पुरस्कार छनोट मूल्याङ्कन तथा सिफारिस समिति, प्रकाशन समितिजस्ता समितिहरू मुख्य हुनेछन् ।

५.४.१ विषयगत समितिमा कम्तिमा एकजना कार्यसमितिको सदस्य वा पदधिकारीको प्रतिनिधित्व हुनुपर्नेछ ।

५.४.२ यसरी गठित समितिका काम, कर्तव्य र जिम्मेवारी कार्यसमितिले तोकेबमोजिम हुनेछ ।

५.४.३ विषयगत समितिहरूले तयार पार्ने सबै प्रतिवेदन कार्यसमितिसमक्ष पेस गर्नुपर्नेछ ।

 

धारा ६

आर्थिक कोष

नेजाका सबै क्रियाकलाप सञ्चालनका लागि संस्थाको एक छुट्टै कोष हुनेछ । संस्थाका सबै आर्थिक कारोबारलाई पारदर्शी ढङ्गबाट सञ्चालन गरिनेछ । आर्थिक कोषमा देहायका स्रोतहरू हुनेछन्-

६.१ सदस्यहरूबाट प्राप्त रकम सदस्यता शुल्क तथा नवीकरण शुल्कबाट आएको आम्दानी, वित्तीय सहयोग वा चन्दा र विभिन्न संघ-संस्थाबाट आम्दानी हुने रकम ।

६.२ संस्थाका लागि प्राप्त हुने कुनै पनि सहयोग स्वीकार गर्ने वा नगर्ने निर्णय कार्यसमितिले गर्नेछ ।

६.३ नेजाको कोष परिचालन तथा सञ्चालनका लागि एक बैङ्क खाता हुनेछ । यो खातामा अध्यक्ष वा महासचिव र कोषाध्यक्ष गरी दुईजनाको हस्ताक्षर हुनेछ, तर कोषाध्यक्षको हस्ताक्षर अनिवार्य हुनेछ ।

६.३ नेजाका सबै आर्थिक कारोबार बैङ्किङ प्रणालीबाट सञ्चालन गरिनेछ । चेक वा अनलाइनमार्फत हुन नसकेका कारोबारहरूको तत्काल कार्यसमितिबाट स्वीकृति लिनुपर्नेछ ।

६.४ आर्थिक कोषको व्यवस्थापन आर्थिक नियमावलीबमोजिम हुनेछ । आर्थिक नियमावलीले गरेको व्यवस्थाअनुसार बचत तथा चल्ती खाताहरू सञ्चालनमा आउनेछन् ।

 

धारा ७

वार्षिक लेखापरीक्षण

७.१ वार्षिक लेखापरीक्षण संस्थाको सबै वार्षिक हरहिसाब विवरणलाई वार्षिक लेखापरीक्षण गरेर सार्वजनिक गरिनेछ । यसको सम्पूर्ण जिम्मा कोषाध्यक्षको हुनेछ । यसका साथै कोषाध्यक्षले वित्तीय प्रतिवेदन कार्यसमिति र साधारण सभामा पेस गरेर अनुमोदन गराउनुपर्नेछ ।

७.२ अनुमोदित वित्तीय प्रतिवेदन नेजाको वेबसाइट वा आधिकारिक प्रकाशन माध्यममा प्रकाशन गर्नुपर्नेछ । साथै, कुनै सदस्यले लिखित अनुरोध गरेमा संस्थाको वित्तीय प्रतिवेदन उपलब्ध गराउनुपर्नेछ ।

७.३ वार्षिक लेखापरीक्षण प्रतिवेदन आवश्यकताबमोजिम आन्तरिक राजश्व कार्यालयमा पनि पेस गरिनेछ ।

 

धारा ८

अविश्वास प्रस्ताव

८.१ कुल सदस्यमध्ये ५१ प्रतिशतले पूरै कार्यसमिति वा कुनै पनि पदाधिकारीउपर लिखित रुपमा अविश्वासको प्रस्ताव दर्ता गराउन सक्नेछन् । यसरी अविश्वासको प्रस्ताव दर्ता भएपछि आवश्यक छलफलका लागि कार्यसमितिले एक महिनाभित्र​ सम्पूर्ण सदस्यमा प्रस्ताव लैजानुपर्नेछ र त्यस्तो बैठक वा सभाको सञ्चालन सल्लाहकार समितिले गर्नेछ । सल्लाहकार समिति गठन भई नसकेको अवस्थामा भने त्यस्तो बैठक वा सभाको सञ्चालन अध्यक्ष परिषद्ले गर्नेछ ।

८.२ कुल सदस्यमध्ये कम्तिमा ५१ प्रतिशत सदस्यको उपस्थितमा अविश्वास प्रस्तावउपर छलफल हुन नसक्ने भ​एमा भर्च्युअल माध्यमबाट अविश्वासको प्रस्तावको टुङ्गो लगाउनुपर्नेछ ।

८.३ अविश्वासको प्रस्ताव पारित गरेर​ कुनै पदाधिकारी वा पूरै कार्यसमितिलाई पदमुक्त गर्नुपहिले स्पष्टीकरणका लागि एक महिनाको समय​ दिनु पर्नेछ ।

८.४ प्रस्तावका पक्षमा उपस्थित सदस्यमध्ये दुई तिहाइ सदस्यको हस्ताक्षर वा समर्थन भएमा कार्यसमिति वा पदाधिकारी स्वतः पदमुक्त हुनेछन् । यदि, पूरै कार्यसमिति नै अविश्वास प्रस्तावबाट हटेको अवस्थामा अध्यक्ष परिषद्ले बढीमा तीन महिनाभित्र कार्यसमितिको निर्वाचन गराएर नयाँ कार्यसमितिलाई जिम्मेवारी हस्तान्तरण गर्नुपर्नेछ ।

 

धारा ९

बैठक, साधारण सभा र अधिवेशन

९.१ नियमित बैठक:  अध्यक्षले कार्यसमितिको बैठक आवश्यकतानुसार महासचिवमार्फत आह्वान  गर्नेछन् ।

९.१.१ कार्यसमितिको बैठक सामान्य अवस्थामा वर्षमा कम्तिमा चार पटक अनिवार्य रुपमा बस्नेछ ।

९.१.२ कार्यसमितिको नियमित बैठक भर्च्युअल, विद्युतीय वा अनलाइन प्रणालीबाट पनि हुन सक्नेछ ।

९.१.३ कुनै विषयमा तत्काल आवश्यक निर्णय लिनुपरेको खण्डमा पदाधिकारीहरूसँग परामर्श गरेर अध्यक्षले निर्णय लिन सक्नेछन् । यसलाई त्यसपछि बस्ने कार्यसमितिको बैठकबाट अनुमोदन गराउनु पर्नेछ ।

९.२   वार्षिक बैठक: वार्षिक रुपमा हुने साधारण सभा वा अधिवेशन हुँदाको बखत कार्यसमितिको वार्षिक बैठक राखिनेछ ।

९.३ साधारण सभा र अधिवेशन: कार्यसमितिले तोकेको मिति र स्थानमा हरेक वर्ष साधारण सभा वा अधिवेशन गरिनेछ । कार्यसमितिको निर्वाचन हुने वर्षमा हुने भेला वा साधारण सभालाई अधिवेशन भनिनेछ र त्यस्तो अधिवेशन प्रत्येक दुई वर्षमा हुनेछ ।

९.३.१ साधारण सभा वा अधिवेशन गरिने स्थान र मिति तय भएपछि कार्यसमितिले सबै सदस्यलाई कम्तिमा तीन महिना पहिले नै जानकारी गराउनुपर्नेछ ।

९.३.२ साधारण सभा वा अधिवेशनमा सहभागी हुन सदस्यहरूले साधारण सभा वा अधिवेशन हुनुभन्दा कम्तीमा एक हप्ताअघि रजिस्ट्रेसन गरिसक्नुपर्नेछ ।

९.३.३ वार्षिक साधारण सभा वा अधिवेशनले संस्थाका वार्षिक कार्यक्रम र नीतिहरू तय गर्नेछ । कार्यसमितिका तर्फबाट प्रस्तुत महासचिवको प्रतिवेदन र आर्थिक प्रतिवेदन अनुमोदन गर्नेछ । यसबाहेक कार्यसमितिका तर्फबाट प्रस्तुत हुने वार्षिक कार्ययोजना अनुमोदन गर्नेछ ।

९.३.४ नेजाको सदस्य संख्या जतिसुकै भए पनि साधारण सभा वा अधिवेशनमा उपस्थित ५१ प्रतिशतभन्दा बढी सहभागीहरूको समर्थनबाट पारित प्रस्ताव नेजाको आधिकारिक निर्णयको हैसियतमा कार्यान्वयन हुनेछ ।

९.३.५ प्राकृतिक विपत्ति, महामारी वा अन्य कुनै असाधारण परिस्थिति सिर्जना भई निर्धारित वार्षिक साधारण सभा वा अधिवेशन हुन नसक्ने भ​एमा कार्यसमितिले बढीमा ६ महिनाका लागि कार्यसमितिको कार्यकाल थप गर्न सक्नेछ । तर, थपिएको समय सीमाभित्र पनि साधारण सभा वा अधिवेशन हुन नसक्ने परिस्थिति देखिएमा भर्च्युअल माध्यमबाट भ​ए पनि साधारण सभा वा अधिवेशन सम्पन्न गर्नुपर्नेछ ।

९.३.६ भर्च्युअल माध्यमबाट निर्वाचन गर्नुपर्ने हुन आएमा निर्वाचन समितिले निर्धारण गरेअनुसारको विधिबाट कार्यसमितिको निर्वाचन गरिनेछ ।

९.४ विशेष साधारण सभा: साधारण सभा वा अधिवेशन हुने मिति नतोकिएको बेला संस्थाका ५१ प्रतिशत सदस्यहरूले कुनै विशेष उद्देश्य खुलाई लिखित रुपमा विशेष साधारण सभा बोलाउन आह्वान गरेमा कार्यसमितिले १५ दिनभित्र​ विशेष साधारण सभा बोलाउनु पर्नेछ । त्यस्तो विशेष साधारण सभा फिजिकल वा भर्च्युअलमध्ये एक माध्यमबाट हुनेछ ।

९.४.१ विशेष साधारण सभामा निश्चित एजेन्डाबाहेक अन्य विषयमा छलफल हुने छैन ।

 

धारा १०

निर्वाचन एवम् मनोनयन

१०.१ हरेक दुई वर्षमा नेजा कार्यसमितिको निर्वाचन हुनेछ । निर्वाचन प्रयोजनका लागि अधिवेशन हुनुभन्दा कम्तिमा पनि तीन महिना पहिले नै कार्यसमितिले बढीमा पाँच सदस्यीय निर्वाचन समिति गठन गर्नेछ । यसमध्ये एकजना संयोजक र बाँकी सदस्य रहनेछन् ।

१०.२ निर्वाचन समितिले विधानको अनुसूची १ अनुसार कार्यतालिका प्रकाशन गर्नुका साथै नयाँ नेतृत्वका लागि विधानमा उल्लेख भएअनुसारका पदहरूमा अनुसूची २ अनुसार मतदाता नामावलीको प्रकाशन र उम्मेदवारीका लागि दरखास्त आह्वान गर्नेछ ।

१०.३ सदस्यता लिएकै वर्ष कुनै पनि पदमा उम्मेदवार हुन पाइने छैन । अध्यक्ष पदमा उम्मेदवार हुनका लागि नेजा कार्यसमितिमा एक कार्यकाल काम गरेको हुनुपर्नेछ । क्षेत्रीय संयोजकमा उम्मेदवार हुन वा सो पदमा मनोनयन हुन सोही क्षेत्रमा बसोबास गरेको सदस्य हुनुपर्नेछ ।

१०.४ निर्वाचन समितिले विधानअनुसार उम्मेदवारी प्रक्रिया पुरा भए/नभएको छानबिन गर्नेछ ।

१०.५ अधिवेशनमा भाग लिन योग्य सदस्यहरूको नामावली कार्यसमितिले तीन महिना पहिले नै टुङ्गो गरेर सबै सदस्यलाई जानकारी गराउनु पर्नेछ ।

१०.६ मतदाताहरूको योग्यता र प्रक्रियाबारे पनि कार्यसमितिले नै छानबिन गर्नेछ । यस सम्बन्धमा कुनै विवाद भएमा वा उजुरी परेमा कार्यसमिति र निर्वाचन समितिबीचको छलफलबाट विवाद निरुपण गरिनेछ ।

१०.७ कार्यसमितिको प्रत्येक पदमा उम्मेदवार हुन दरखास्त फाराममा मतादाता नामावलीमा भएको क्रमसंख्या उल्लेख गरेर एकजना प्रस्तावक र एकजना समर्थक सदस्यको हस्ताक्षरसहित निर्वाचन समितिसमक्ष बुझाउनु पर्नेछ । विधानको धारा ३ को उपधारा ३.१ र ३.२ मा व्यवस्था भएबमोजिमका सदस्य उम्मेदवारको समर्थक वा प्रस्तावक हुन सक्ने छन् ।

१०.८ सबै पदका प्रत्यासीले अनुसूची ३ अनुसारको ढाँचामा उम्मेदवारीको लागि दरखास्त दिनुपर्नेछ । तर​, अध्यक्ष पदमा प्रतिस्पर्धा गर्नेले निर्वाचनमा आफू दोस्रो स्थानमा रहेमा कार्यसमिति सदस्य भ​एर काम गर्ने प्रतिबद्धता उम्मेदवारी दर्ता गर्दाको बखतमा गर्नुपर्नेछ ।

१०.९ उम्मेदवारीका लागि दरखास्त दिँदा अनुसूची ४ मा व्यवस्था भएअनुसारको शुल्कसहित दरखास्त दिनुपर्नेछ ।

१०.१० अमेरिका वा क्यानाडाभर कार्यक्षेत्र भएका र राज्यस्तरमा शाखा वा सञ्जाल भ​एका संस्थाको कार्यसमितिमा भएका नेजा सदस्यहरू नेजा कार्यसमितिको कुनै पनि पदमा उम्मेदवार हुन​ योग्य हुने छैनन् । त्यस्तो पुष्टि भएको प्रमाण आएको खण्डमा निजको उम्मेदवारी स्वतः खारेज हुनेछ । तर, स्थानीय सहर वा राज्यस्तरमा रहेका संस्थाको कार्यसमितिमा रहेका सदस्यहरूलाई उम्मेदवार हुन उल्लेखित प्रावधानले कुनै बन्देज गर्ने छैन ।

१०.११ निर्वाचन समितिले अनुसूची ५, ६ र ७ अनुसारको ढाँचामा सबै उम्मेदवारको प्रक्रियागत सूची प्रकाशन गर्नेछ । निर्वाचन हुने पदहरूमा एकभन्दा बढी उम्मेदवारी नपरेमा निर्वाचन समितिले सो पदहरूमा निर्विरोध निर्वाचित भएको घोषणा गर्नेछ र अनुसूची ९ अनुसारको शपथ ग्रहण एवम् पद बहाली/पद हस्तान्तरणको कार्यक्रम निर्वाचन स्थलमा नै हुनेछ ।

१०.१२ निर्वाचन हुने पदहरूमा एक जनाभन्दा बढी उम्मेदवारी परेमा त्यस्ता पदहरूमा निर्वाचन हुनेछ । उपधारा १०.११ को व्यवस्था र अनुसूची ७ बमोजिम अन्तिम नामावली प्रकाशन गरेपछि निर्वाचन समितिले निर्वाचन कार्यक्रम प्रकाशन गरेर तत्काल मतदान कार्य गराउनु पर्नेछ ।

१०.१३ मतदान समाप्त हुनेबित्तिकै उम्मेदवार र निजहरूले तोकेको एकजना प्रतिनिधिको रोहबरमा मतगणना हुनेछ । मतगणना सकिनेबित्तिकै अन्तिम नतिजा घोषणा गर्नुपर्नेछ र विजयी उम्मेदवारहरूलाई उपधारा १०.१४ अनुसारको प्रक्रियाबमोजिम शपथ गराउनु पर्नेछ ।

१०.१४ निर्वाचन समितिका संयोजकले सबै निर्वाचित पदाधिकारी र सदस्यहरूलाई सामूहिक शपथ दिलाउने छन् । तत्काल शपथ लिन नसक्ने पदाधिकारी वा सदस्यले उपयुक्त समयमा अध्यक्षबाट शपथ
लिनुपर्नेछ । अनुसूची ९ अनुसारको शपथ ग्रहणको निर्दिष्ट फाराममा हस्ताक्षर गरेपछि मात्र निर्वाचित पदाधिकारी वा सदस्यले पद बहाली गरेको मानिनेछ ।

१०.१५ अधिवेशनमा भाग लिई मताधिकार प्रयोग गर्न विधानको धारा ३, उपधारा ३.१ र ३.२ मा व्यवस्था भएबमोजिमको सदस्य हुनुपर्नेछ ।

१०.१६ संस्थाको सदस्यता अवधि दुई वर्षको हुनेछ । तर, हरेक दुई वर्षमा हुने अधिवेशनको तीन महिना पहिलेसम्म तोकिएको शुल्क तिरेर नवीकरण नगरेको वा नयाँ सदस्यता नलिएको सदस्यले अधिवेशनमा सहभागी हुन पाउने छैनन् ।

 

धारा ११

आचारसंहिता

११.१ नेजाले आफ्ना सदस्यहरूका लागि आचारसंहिता बनाई लागू गर्न सक्नेछ ।

११.२ आचारसंहिता पालन भए/नभएको अनुगमन गर्नका लागि विधानको धारा ५, उपधारा ५.४ को व्यवस्थाअनुसार नेजा सदस्यहरूमध्येबाट बढीमा सात सदस्यीय आचारसंहिता कार्यान्वयन समिति बनाई आचारसंहिता लागू गर्नेछ ।

११.३ आचारसंहिता कार्यान्वयन समितिले आफ्नो प्रस्तावित आचारसंहितासहितको प्रतिवेदन कार्यसमितिसमक्ष पेस गर्नेछ ।

११.४ प्रस्तावित आचारसंहिता जस्ताको त्यस्तै वा संशोधनसहित स्वीकार गरेर कार्यसमितिले त्यसको मूल कपिको प्रतिलिपिसहित अभिलेखीकरण गर्नुपर्नेछ । आचारसंहिताको मूल कपि नेजाको वेबसाइटमा समेत सार्वजनिक गरिनेछ ।

११.५ कार्यसमितिले गठन गर्ने आचारसंहिता समितिमा कार्यसमितिमा बसेर कार्य अनुभव हासिल गरेका वा सदस्यहरूको सूचीबाट बनाउनुपर्नेछ । यो स्वतन्त्र अनुगमन गर्ने निकाय हुनेछ । यसले गुनासाहरूसमेत सुन्नेछ ।

११.६ आचारसंहिता अनुगमन समिति नयाँ कार्यसमिति गठन भएको दुई महिनाभित्र​ गठन गरिसक्नु पर्नेछ ।

 

धारा १२

संस्थागत संलग्नता

१२.१ आफ्ना सदस्यहरूको अधिकार, सुविधा र अन्य वृत्ति विकास कार्यका लागि नेजाले पत्रकारहरूका अन्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा क्रियाशील संघ-संस्थासँग समन्वय र सहकार्य गर्न​ सक्नेछ । तर, त्यस्ता राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा क्रियाशील संघ-संस्थाको सदस्यता वा आबद्धता लिनुपरेमा कार्यसमिति र सल्लाहकार समितिको संयुक्त बैठकको दुई तिहाइको निर्णयबाट मात्र गरिनेछ । यदि संयुक्त समितिले निर्णय गर्न नसकेमा सो प्रस्ताव वार्षिक साधारण सभाबाट निर्णय गराउनु पर्नेछ ।

 

धारा १३

व्याख्या

१३.१ यस विधानमा उल्लेख गरिएका धारा/उपधाराहरूका बारेमा कुनै विवाद उत्पन्न भएमा कार्यसमिति, सल्लाहकार समिति र अध्यक्ष परिषद्को संयुक्त बैठकको दुई तिहाइले सो सम्बन्धमा गरेको व्याख्या नै अन्तिम हुनेछ । यदि संयुक्त समितिले निर्णय गर्न नसकेमा सो प्रस्ताव वार्षिक साधारण सभामा लगेर निर्णय गर्नुपर्नेछ ।

 

धारा १४

संशोधन

१४.१ संस्थाको विधानमा संशोधन आवश्यक भ​एमा कार्यसमितिले विधानको धारा ५, उपधारा ५.४ को व्यवस्थाअनुसार गठन गरेको विधान समितिले विधानमा आवश्यक संशोधन प्रस्ताव तयार गर्नेछ ।

१४.२ विधान संशोधनलाई संस्थाको वार्षिक साधारण सभा वा अधिवेशनमा पेस गरेर वार्षिक साधारण सभा वा अधिवेशनमा उपस्थित सदस्यमध्ये दुई तिहाइ सदस्यहरूबाट अनुमोदन गराउनु पर्नेछ । अनुमोदित विधान तत्काल कार्यान्वयनमा आउनेछ ।

१४.३ कार्यान्वयनमा रहेको विधान नेजाको वेबसाइट र अन्य आधिकारिक बुलेटिन वा प्रकाशन सामग्रीमा समेत प्रकाशन गरिनेछ ।

 

धारा १५

नीति-नियम तथा खारेजी

१५.१ कार्यसमितिले प्रचलित कानुनअन्तर्गत रही संस्थाको उद्देश्य परिपूर्ति गर्नका लागि अन्य अतिरिक्त नीति-नियम बनाउन सक्नेछ ।

१५.२ नेजाको विधानमा जहाँ जे लेखिएको भए तापनि अमेरिकी कानुनसँग बाझिएको हदसम्म​ सो बाझिएका धारा/उपधाराहरू स्वतः निष्क्रिय हुनेछन् ।

 

 



अनुसूचीहरू



अनुसूची १

(विधानको धारा १० को प्रयोजनका लागि)

नेपाल अमेरिका पत्रकार संघ (नेजा)

निर्वाचन समिति

निर्वाचन कार्यतालिकासम्बन्धी सूचना

मिति:

विधानको धारा १०, उपधरा १०.२ को प्रयोजनका लागि अनुसूची १ बमोजिम नेजाका सबै सदस्यहरूको जानकारीका लागि तपसिलबमोजिमको निर्वाचन कार्यतालिकाको प्रकाशन गरिएको छ ।

 

मतदाता नामावली प्रकाशन मिति ………………., ……… बारका दिन ………..बजे

उम्मेदवारको लागि दरखास्त फाराम वितरण ………..बजेदेखि…………… बजेसम्म

उम्मेदवारहरूले दरखास्त फाराम बुझाउने ​………..बजेदेखि…………… बजेसम्म

उम्मेदवारको प्रथम सूची प्रकाशन र दाबी-विरोध ​………..बजेदेखि…………… बजेसम्म

उम्मेदवारको दोस्रो सूची प्रकाशन र​ उम्मेदवारी फिर्ता लिने समय ​………..बजेदेखि…………… बजेसम्म

उम्मेदवारको अन्तिम सूची प्रकाशन ​………..बजेदेखि…………… बजेसम्म

निर्वाचनका लागि मतदानको समय​………..बजेदेखि…………… बजेसम्म

मतगणनाको नतिजा घोषणा ​………..बजेदेखि…………… बजेसम्म

शपथ ग्रहण : मतगणनाको परिणाम घोषणापश्चात्

 

…………………….………………….

संयोजक, निर्वाचन समिति

 


अनुसूची २

(विधानको धारा १० को प्रयोजनका लागि)

नेपाल अमेरिका पत्रकारसंघ (नेजा)

निर्वाचन समिति

मतदाता नामावली प्रकाशनसम्बन्धी सूचना

मिति:

विधानको धारा १०, उपधरा १०.२ को प्रयोजनका लागि अनुसूची २ बमोजिम कार्यसमितिको आज मिति ……………. का दिन हुने निर्वाचनका लागि विधानको धारा ३, उपधारा ३.१ र उपधारा ३.२ अनुसार तपसिल बमोजिमका सदस्यहरू मतदान प्रक्रियामा सहभागी हुन योग्य भएकाले नेजाका सबै सदस्यहरूको जानकारीका लागि मतदाता नामावलीको सूचीसहित यो सूचना प्रकाशन गरिएको छ । मतदाता नामावली उपर कुनै दाबी-विरोध भ​ए निर्वाचन समितिसमक्ष यो सूचना प्रकाशित भ​एको एक घन्टाभित्र प्रमाणसहित निवेदन दिनुहुन अनुरोध छ । तोकिएको समयभित्र कुनै उजुरी नआएमा यही मतदाता नामावलीको सूची नै अन्तिम हुने व्यहोरा पनि जानकारी गराइन्छ ।

 

………………………….…………….

संयोजक, निर्वाचन समिति

समय:

 


 

अनुसूची ३

(विधानको धारा १०, उपधारा १०.७ को प्रयोजनका लागि)

 

उम्मेदवारको लागि दरखास्त फारमको नमूना

श्री संयोजकज्यू

निर्वाचन समिति, नेजा

विषयः …………….………………पदमा उम्मेदवारी सम्वन्धमा ।

महोदय,

प्रस्तुत विषयमा नेजाको विधानको धारा १०, उपधारा १०.७ बमोजिम आज मिति ………………… का दिन हुन लागेको नेजा कार्यसमिति, २०…….. देखि २०……. सम्मको कार्यकालका लागि …………………………………… पदमा उम्मेदवार हुन योग्य सम्झेकाले विधानको धारा १०, उपधारा १०.१३ र अनुसूची ४ बमोजिमको शुल्क ………अमेरिकी डलर नगद/ चेक/ अनलाइन भुक्तानी गरेको प्रमाणसहित यो उम्मेदवारी दरखास्त पेस गरेको छु ।

विधानको धारा १०, उपधारा १०.३ र धारा ४, उपधारा ४.१.६ अनुसारको योग्यता पुगेको व्यहोरा अनुरोध गर्दछु । फरक देखिए निर्वाचन समितिले गर्ने निर्णय स्वीकार गर्नेछु ।

 

उम्मेदवारको नामः

मतदाता नामावली क्रम संख्याः

उम्मेदवारी दिने पदः

ठेगानाः

हस्ताक्षरः

मितिः

 

प्रस्तावकको नामः                                                                                               समर्थकको नामः

मतदाता नामावली क्रम संख्याः                                                                            मतदाता नामावली क्रम संख्याः

हस्ताक्षरः                                                                                                             हस्ताक्षरः

मितिः                                                                                                                   मितिः

 


 

अनुसूची ४

(विधानको धारा १० को प्रयोजनका लागि)

नेपाल अमेरिका पत्रकार संघ (नेजा)

निर्वाचन समिति

उम्मेदवारको लागि दरखास्त शुल्क विवरण

 

मितिः

विधानको धारा १०, उपाधारा १०.१०, अनुसूची ४ बमोजिम नेजाको कार्यसमितिको आज मिति …………………. हुन लागेको निर्वाचन प्रयोजनका लागि उम्मेदवारी दरखास्त पेस गर्न चाहने र धारा १०, उपधारा १०.३ बमोजिमको योग्यता पुगेका सदस्यहरूका लागि तपसिलबमोजिमको शुल्क निर्धारण गरिएको जानकारी
गराइन्छ । अनलाइन भुक्तानीमार्फत दरखास्त शुल्क बुझाएका उम्मेदवारहरूले दरखास्त फारामका साथ शुल्क बुझाएको प्रमाणसमेत पेस गर्नुपर्नेछ । उम्मेदवारी दरखास्तबापत बुझाएको रकम फिर्ता हुने छैन ।

 

उम्मेदवारी दरखास्त शुल्क (अमेरिकी डलर)

अध्यक्षः                                         $५००

उपाध्यक्ष र महासचिवः                  $३००

सचिव र कोषाध्यक्षः                       $२००

क्षेत्रीय संयोजकः                             $१५०

सदस्यः                                          $१००

 

………………………………………..

संयोजक, निर्वाचन समिति

 


 

अनुसूची ५

(विधानको धारा १० को प्रयोजनका लागि)

नेपाल अमेरिका पत्रकार संघ (नेजा)

निर्वाचन समिति

उम्मेदवारको नामावली प्रकाशन (प्रथम सूची) र​ दाबी-विरोधसम्बन्धी सूचना

 

विधानको धारा १०, उपधारा १०.११ र अनुसूची ५ को व्यवस्थाअनुसार जारी निर्वाचन प्रक्रियाअन्तर्गत तपसिलबमोजिमका उम्मेदवारहरूले निर्वाचन समितिसमक्ष दरखास्त दिनुभएकाले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना जारी गरिएको छ । प्रकाशित सूचीका उम्मेदवारहरूउपर कुनै दाबी- विरोध वा उजुरी गर्नुपर्ने मनासिब कारण भए यो सूचना प्रकाशन भ​एको एक घन्टाभित्र स-प्रमाण निर्वाचन समितिसमक्ष सूचना दिनुहुन सम्बन्धित सबैलाई अनुरोध छ । तोकिएको समयभित्र उम्मेदवारहरूउपर कुनै दाबी-विरोध नआएमा प्रथम सूचीका उम्मेदवारहरूको विवरणअनुरुप नै दोस्रो सूची प्रकाशन गरिने जानकारी गराइन्छ ।

 

उम्मेदवारको विवरण

 

क्रम संख्या         नाम                                                      ठेगाना                                                                  पद

 

 

………………………………

संयोजक, निर्वाचन समिति

समय:

 


 

अनुसूची ६

(विधानको धारा १० को प्रयोजनका लागि)

नेपाल अमेरिका पत्रकार संघ (नेजा)

निर्वाचन समिति

 

उम्मेदवारको दोस्रो सूची प्रकाशन र​ उम्मेदवारी फिर्ता लिने समयसम्बन्धी सूचना

 

विधानको धारा १०, उपधारा १०.११ र अनुसूची ६,को व्यवस्थाअनुसार प्रकाशित उम्मेदवारहरूको प्रथम सूचीउपर कुनै दाबी-विरोध प्राप्त नभएकाले जारी निर्वाचन प्रक्रियाअन्तर्गत अनुसूची ६ बमोजिम तपसिलका उम्मेदवारहरूको दोस्रो सूची प्रकाशन गरिएको छ । दोस्रो सूचीमा हुनुहुने कोही उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिन चाहेमा यो सूचना प्रकाशन भएको ३० मिनेटभित्र निर्वाचन समितिसमक्ष निवेदन दिनु हुन पनि सम्बन्धित सबैको जानकारीका लागि यो सूचना जारी गरिएको छ । तोकिएको समयभित्र कसैको पनि उम्मेदवारी फिर्ता नभएमा यही सूचीका उम्मेदवारहरूको अन्तिम सूची जारी हुने व्यहोरा पनि सम्बन्धित सबैलाई जानकारी गराइन्छ ।

 

उम्मेदवारको विवरण

 

क्रम संख्या         नाम                                                      ठेगाना                                                                  पद

 

………………………………..……….

संयोजक, निर्वाचन समिति

समय:

 


 

अनुसूची ७

(विधानको धारा १० को प्रयोजनका लागि)

नेपाल अमेरिका पत्रकार संघ (नेजा)

निर्वाचन समिति

उम्मेदवारको अन्तिम सूची प्रकाशनसम्बन्धी सूचना

उम्मेदवारको अन्तिम सूची

 

विधानको धारा १०, उपधारा १०.११ र अनुसूची ७,को व्यवस्थाअनुसार प्रकाशित उम्मेदवारहरूको दोस्रो सूचीका कुनै पनि उम्मेदवारहरूले आफ्नो नाम फिर्ता नलिनु भएकाले/केही उम्मेदवारले नाम फिर्ता लिनुभएकाले जारी निर्वाचन प्रक्रियाअन्तर्गत अनुसूची ७ बमोजिम तपसिलका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन गरिएको छ । उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन भएको १ घन्टापछि सभा हलभित्र मतदान कार्य सुरु हुने सम्बन्धित सबैमा जानकारी गराइन्छ । मतदानमा सहभागी हुन आफ्नो फोटोसहितको परिचय पत्र लिएर आउनुहुन सबै मतदाता सदस्यहरूलाई अनुरोध छ ।

 

उम्मेदवारको विवरण

 

क्रम संख्या         नाम                                                      ठेगाना                                                                  पद

 

………………….………………….

संयोजक, निर्वाचन समिति

समय:

 


 

अनुसूची ८

(विधानको धारा १०, उप धारा १०.१४ को प्रयोजनका लागि)

नेपाल अमेरिका पत्रकार संघ (नेजा)

निर्वाचन समिति

मतगणनाको नतिजासम्बन्धी सूचना

मितिः

विधानको धारा १० को प्रावधानअनुसार आज जारी निर्वाचन प्रक्रियाअन्तर्गत सम्पन्न मतदानबाट तपसिलबमोजिमका उम्मेदवारहरू निर्वाचित हुनुभएकाले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ । निर्वाचित उम्मेदवारहरूको शपथ ग्रहण र पदबहाली समारोह सभाहलमा हुने भएकाले निर्वाचित उम्मेदवारहरूले निर्वाचन समितिमा सम्पर्क राख्नुहुन अनुरोध छ ।

 

उम्मेदवारको विवरण

 

क्रम संख्या         नाम                                                      पद                         प्राप्त मत संख्या                                               नतिजा

 

 

………………………………………..

संयोजक, निर्वाचन समिति

 


 

अनुसूची ९

(विधानको धारा १०, उपधारा १०.१२ को प्रयोजनका लागि)

नेपाल अमेरिका पत्रकार संघ (नेजा)

निर्वाचन समिति

शपथ

नेपाल अमेरिका पत्रकार संघ (नेजा) को विधानको धारा १० अनुसार ……………. (मिति) सम्पन्न भएको निर्वाचनबाट………………………. पदमा निर्वाचित भएको म………………………………………………………. (नाम) नेजा र यसका सदस्यहरूको सर्वोपरी हितप्रति कटिबद्ध छु । पदमा रहँदा पदीय मर्यादा र संस्थागत गोपनीयता कायम राख्नेछु र पद निवृत्त भएपछि पनि संस्थाका सबै सूचनाको संरक्षण र गोपनीयता राख्न निष्ठापूर्वक सक्रिय रहने शपथ गर्दछु ।

 

 

निर्वाचित व्यक्तिको नामः                                                                                   निर्वाचन समितिको संयोजकको नामः

 

पदः                                                                                                                  हस्ताक्षरः

हस्ताक्षरः                                                                                                           मितिः

मितिः

 


 

अनुसूची १०

(विधानको धारा १,  उपधारा १.२.२ को प्रयोजनका लागि)

नेपाल अमेरिका पत्रकार संघ (नेजा)

 

लोगो