नेपाल अमेरिका पत्रकार संघ (नेजा) को टेक्सस राज्यको ह्युष्टन  शहरमा २० र २१ , २०२३ मा हुने आठौं अधिवेशन तथा १६औं साधारणसभावाट पारित संघका महासचिव सुरज भण्डारीले तयार पार्नुभएको महासचिवको प्रतिवेदन । 

 

 विषय प्रवेशः

सन् २००७ मा स्थापित संघको भर्जिनिया राज्यको च्यान्टिली सहरमा जुलाई २४ – २५, २०२१ मा भएको सातौं अधिवेशन तथा १४औं साधारण सभाले संघको नयाँ कार्यसमिति निर्वाचित गरेको थियो । विकासराज न्यौपानेको अध्यक्षतामा निर्वाचित कार्यसमितिले एक वर्षभित्र पूरा गर्दा भए/गरेका गतिविधि समेटेर तयार पारेको महासचिवको प्रतिवेदन जुलाई २३ – २४, २०२२ मा सानफ्रान्सिस्को सहरमा सम्पन्न संघको १५औं साधारण सभाले पारित गरिसकेकाले तत्पश्चातको एक वर्षको अवधिमा भएका गतिविधिलाई समेटेर यो महासचिवको प्रतिवेदन तयार पारिएको हो । 

 

यस प्रतिवेदनलाई मुख्यतः २ भागमा विभाजन गरेको छु । जो यस प्रकार रहेका छन् । 

 

१) सांगठनिक अवस्था 

२) संघको संस्थागत विकासका लागि गरिएका प्रयास र कार्यहरू

३) संघ मार्फत भएका गतिविधिहरू

१) सांगठनिक अवस्था 

नेपाल अमेरिका पत्रकार संघ (नेजा) मा हाल १६९ सदस्य रहनुभएको छ । जसमा २ जना मानार्थ सदस्य हुनुहुन्छ भने ४८ जना आजीवन सदस्य रहनुभएको छ । वर्ष २०२१-२०२३ को कार्यकालमा २२ जना साधारण सदस्यहरूले सदस्यताको किसिमलाई आजीवन सदस्यतामा परिवर्तन गर्नुभएको छ। यस कार्यकालमा ४७ जनाले नयाँ सदस्यता प्राप्त गर्नुभएको छ । यसअघि २ जना मानार्थ सदस्य, २६ जना आजीवन गरी कुल १ सय ४० सदस्य नेजामा आबद्व रहनुभएको थियो । 

२) संघको संस्थागत विकासका लागि गरिएका प्रयास र कार्यहरूः संघको संस्थागत विकाससँग सम्बन्धित रही यस बीचमा संघमार्फत गरिएका प्रयास र कार्यहरू देहायबमोजिम रहेका छन्-

 

क) दस्तावेजीकरणः

 

सन् २००७ मा स्थापना भएको संघको ऐतिहासिक दस्तावेजहरुको संकलन तथा आवश्यक परेको अवस्थामा विभिन्न कागजात तथा प्रमाणपत्रहरुलाई अद्यावधिक गर्ने कार्यको सुरुवात भएको छ । अत्यावश्यक कागजात, ऐतिहासिक तस्बिरहरु, विभिन्न समयमा विभिन्न प्रयोजनका लागि गठन भएका समिति र उनीहरुले तयार पारेको प्रतिवेदन, विभिन्न शीर्षकमा संघमार्फत गरिएका ऐतिहासिक महत्वका निर्णयहरुलाई संकलन गर्ने काम अघि बढेको छ । यस कार्यमा सहयोग गर्नुहुने सबैमा धन्यवाद दिन चाहन्छु । संघको यस कार्यसमितिले सुरुवातदेखि नै संघको कागजपत्रहरुको दस्तावेजीकरणको  कार्यलाई प्राथमिकता दिँदै आएको थियो । संघको वर्तमान कार्यसमितिले सुरुवातमै सामूहिक ढंगबाट सबै सदस्यलाई इमेल गरी संघ सम्बन्धित कुनै कागजात, तस्बिर वा सामग्री रहे उपलब्ध गराउन अनुरोध गरेको थियो । सँगसँगै विभिन्न चरणमा सम्बन्धित व्यक्तित्वहरुसँग समेत छलफल भएको थियो । फेब्रुअरी ६, २०२२ मा संस्थापक अध्यक्षज्यू, पूर्वअध्यक्षज्यूहरु, विधान समितिका पूर्वसंयोजक तथा सदस्यहरु, पूर्वसल्लाहकारज्यूहरु, पूर्वमहासचिवज्यूहरु, पूर्वसचिवज्यूहरु तथा पूर्वपदाधिकारी र पूर्वकार्यसमितिका उपलब्ध सदस्यज्यूहरुलाई डाकेर सामूहिक रुपमा छलफल गर्नुका साथै संघको वर्तमान कार्यसमितिको तर्फबाट अनुरोधसमेत गरिएको थियो । सो सामूहिक छलफलबा प्राप्त सुझावलाई ग्रहण गर्दै त्यसलाई मार्गदर्शनको रुपमा लिई दस्तावेजीकरणको कार्य अघि बढाइएको थियो । 

संघको हालसम्म भएका सदस्यहरुको विवरण, पूर्वकार्यसमितिमा रहनुभएका सदस्यहरुको विवरण, तस्बिरहरु, ऐतिहासिक डकुमेन्टहरुलाई एकत्रित गरी दस्तावेजीकरण गर्ने कार्य अघि बढेको छ ।

 

ख) संघको दर्ता प्रमाणपत्रको प्रतिलिपि प्राप्ति

 

संघ दर्ता भएको सम्बन्धित सरकारी निकायमार्फत दर्ता प्रमाणपत्रको प्रतिलिपि प्राप्त गरी भण्डारण गरिएको छ । हाम्रो कार्यसमिति आएपश्चात संघ दर्ता भएको प्रमाणपत्रको खोजी गर्दा सो प्राप्त हुन नसकेपछि  यो कार्यसमितिले संघका अघिल्ला कार्यसमितिमा रहनुभएका सम्बन्धित पदाधिकारीहरुसँग समेत सो उपलब्ध गराउन आग्रह गरेको थियो । तर, हाम्रो कार्यसमितिलाई त्यो उपलब्ध हुन सकेन । फेब्रुअरी ६, २०२२ मा सामूहिक बैठकमा समेत यो विषय हामीले उठायौं र तत्पश्चात पनि उपलब्ध नभएपछि त्यसको प्रतिलिपिका लागि प्रक्रिया अघि बढाइएको थियो र सो प्राप्त भएको छ ।

 

ग) रसिद छपाइ तथा ट्याक्स छुट नम्बर लिने प्रक्रियाको सुरुवात 

 

गैरनाफामूलक सामाजिक संस्थाको रुपमा ५०१सी-३ (501C-3) ३ मा दर्ता भएको हाम्रो संस्थाले कुनै पनि सामग्री खरिद गर्दा वा कुनै सेवा तथा वस्तुको लागि भुक्तानी गर्नुपर्दा हामीले प्रक्रिया पूरा गर्न सक्दा ट्याक्स तिर्नुपर्दैन, त्यसका लागि आवश्यक दर्ता प्रक्रियाको कार्य पूरा भई सोका लागि आवश्यक पर्ने नम्बर प्राप्त भएको छ । यस विषयमा समेत कोषाध्यक्षको प्रतिवेदनमा विस्तृत उल्लेख हुनेछ । साथै, हाम्रो संस्थालाई सहयोग गर्नेहरुलाई हामीले उहाँहरुले ट्याक्स फाइल गर्दा सहयोग गरिएको रकम तिर्नुपर्ने ट्याक्सबाट छुट गराउन सक्ने गरी व्यवस्था मिलाउनका लागि प्रक्रिया अघि बढाएका छौं । 

 

घ) विधान संशोधन

 

संघको यसअघिको  विधानलाई संशोधन गरी आवश्यकताअनुरुप परिमार्जनसमेत गरी संघको विधान-२०२२ तयार पारी गत १५औं साधारण सभाबाट पारित गराई लागू गरिएको छ । 

 

ङ) पुरस्कार तथा सम्मानसम्बन्धी विनियावली

 

संघले विभिन्न शीर्षकमा उत्तर अमेरिकाभित्र र मातृभूमि नेपालमा पत्रकारिता पुरस्कार वितरण गर्दै आएको छ । संघले विगतदेखि नै वितरण गर्दै आएको पत्रकारिता पुरस्कारलाई निरन्तरता दिँदै थप पुरस्कार तथा सम्मानका लागि सहकार्य गर्न चाहने संघ-संस्थाहरु बढेका छन् । आगामी दिनहरुमा पनि यो संख्या थपघट हुन सक्ने कुरामा सचेत रहँदै संघको यसअघि रहेको नेजा पुरस्कारसम्बन्धी कार्यविधि २०१५ को मूल मर्म र त्यसपश्चात भएका विभिन्न व्यावहारिक तथा लिपिबद्व सम्झौताहरुको मूल उद्देश्य प्रभावित नहुने गरी संघको पुरस्कार तथा सम्मानसम्बन्धी विनियमावली-२०२२ निर्माण गरी कार्यन्वयनमा ल्याइएको छ । यसले संघको हाल रहेको पुरस्कारहरुलाई व्यवस्थित, प्रक्रियागत, पारदर्शी बनाउन भूमिका खेल्नेछ भने भविष्यमा सुरुवात हुन सक्ने पुरस्कार, सम्मान, लेखनवृत्तिजस्ता विषयलाई समेत एउटा गाइडलाइन दिनेछ ।

 

च) आचारसंहिता निर्माण

 

संघको विधानमा समेत आचारसंहिता बनाएर अघि बढ्न सकिनेछ भन्ने उल्लेख भए पनि त्यसको कार्यान्वयन हुन नसकिरहेको अवस्था रहेको थियो । पत्रकारिताको विश्वव्यापी मान्यता र पत्रकार आचारसंहितासँग जोडिने अन्तर्राष्ट्रिय अभ्यासलाई अंगीकार गर्ने नेजा सदस्यहरु त्यसबाट कहीँ कतै पनि विचलित हुँदैनन् भन्ने मान्यता हाम्रो रहेको छ । र पनि संघको तर्फबाट आफ्ना सदस्यहरुलाई आचारसंहिता निर्माण गरी अघि बढ्दा त्यसले समुदायमा समेत सकारात्मक सन्देश प्रवाह हुने र पत्रकार तथा पत्रकारिताको गरिमा र विश्वसनियता पनि बढ्नेतर्फ ध्यान दिई संघले आचारसंहिता निर्माण गरेको छ । पत्रकारलाई आचारसंहिता भन्ने कुरा भनेको एक प्रकारको पत्रकारिताको धर्म आफूले निभाएको छु या छैन भनी स्वमापन गर्ने स्वनियम नै हो भन्ने कुरा हामी सबै नेजा सदस्यहरु त्यसमा गम्भीर छौं र रहने छौं भन्ने हाम्रो विश्वास रहेको छ । 

 

छ) नेपाल पत्रकार महासंघ (एफएनजे) सँग सम्झौता

 

संघ गठनको  उद्देश्य र सदस्यता प्राप्तिको आधारले समेत हामीलाई मातृभूमि नेपालसँग कहीँ न कहीँ जोडेको छ । र, त्यही मातृभूमि नेपालमा पत्रकारिता गरिरहने पत्रकारहरुको छाता संस्था नेपाल पत्रकार महासंघ (एफएनजे) को नेपालमा रहँदा जसका हामीमध्ये धेरै सदस्य पनि थियौं र कतिपय अहिले पनि छौं । त्यो संस्थासँग नेपाल अमेरिका पत्रकार संघ (नेजा) को विगतदेखि नै घनिष्ठ र सुमधुर सम्बन्ध तथा सहकार्य रहँदै आएको छ । नेजा ग्रामीण पत्रकारिता पुरस्कार हो वा अन्य विभिन्न कार्यहरुमा नेजा र एफएनजेबीचमा सहकार्य हुँदै आएको अवस्था छ । महासंघमा अध्यक्ष शिव गाउँलेज्यू र नेजामा अध्यक्ष आङछिरिङ शेर्पाज्यू रहँँदा दुई संस्थाबीच लिखित सम्झौता गरी सहकार्यलाई संस्थागत गर्ने कामको सुरुवात भएको थियो । 

 

समयक्रमसँगै नेजा र एफएनजेबीच स्पष्ट ढंगको सहकार्यको आवश्यकता देखिएको थियो । यसका लागि नेजा र एफएनजेका बीचमा आपसी समझदारी पत्रमा हस्ताक्षर गरेर अघि बढ्ने सम्बन्धमा यसअघि कार्यसमितिहरुले समेत पहल गर्नुभएको थियो । त्यसलाई समेत ग्रहण गर्दै गत १५औं साधारण सभाको क्रममा नेपाल अमेरिका पत्रकार संघ (नेजा) र नेपाल पत्रकार महासंघ (एफएनजे) का बीचमा आपसी समझदारी पत्रमा हस्ताक्षर भएको छ । 

 

ज) नेजा-एनआरएनए यूएसए पत्रकारिता सम्मानको सुरुवात 

 

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्,अमेरिका (एनआरएनए, अमेरिका) ले हामीसँग सहकार्य गरी पत्रकारिताको क्षेत्रमा केही गर्ने आशय प्रकट गरेसँगै छलफल आरम्भ भएको थियो । एनआरएनए अमेरिकासँगको छलफलपश्चात उहाँहरुले संघसँग मिलेर पत्रकारिता सम्मानको व्यवस्था गर्ने सम्बन्धमा चासो देखाउनुभयो । तत्पश्चात त्यसका लागि आवश्यक कोष निर्माण गर्न बजेटसमेत विनियोजन गरी पहिलो सम्मानका निम्ति आवश्यक पर्ने रकम उपलब्ध गराउनुभयो । त्यस पुरस्कार राशीको कोष बनाई नेजा-एनआरएनए, अमेरिका पत्रकारिता सम्मानको सुरुवात भएको छ ।  यसै क्रममा यस सम्मान संयुक्त रुपमा संघका संस्थापक अध्यक्ष गिरीश पोखरेल र सदस्य विजय घिमिरेले प्राप्त गर्नुभएको थियो । जसमध्ये संघका संस्थापक अध्यक्ष पोखरेललाई  संघको १५औं साधारण सभामा प्रदान गरिएको थियो । अर्का सम्मानित व्यक्तित्व घिमिरेको अनुपस्थितिका कारण सो सम्मान प्रदान गर्न सकिएको छैन । यसअघि एनआरएनए अमेरिकासँग यसअघि नेजा एनआरएनए डिबेटलगायत विभिन्न कार्यक्रममा सहकार्य भने हुँदै आएको थियो ।  

 

झ) नेजा सामुदायिक पत्रकारिता पुरस्कारलाई निरन्तरता

 

नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले उत्तर अमेरिकामा रही पत्रकारितामा सक्रिय पत्रकारहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले आमा फाउन्डेसनसँगको सहकार्यमा स्थापना गरी वितरण गर्दै आएको नेजा सामुदायिक पत्रकारिता पुरस्कारलाई निरन्तरता दिइएको छ । यस पुरस्कारका लागि रकम उपलब्ध गराउँदै आएको आमा फाउन्डेसनसँग सम्झौता गरी आगामी दिनमा यसको निरन्तरताका लागि पहल गरिनेछ । 

 

ञ) वेबसाइट परिमार्जन

संघको वेबसाइटमा परिमार्जन गरिएको छ । त्यस वेबसाइटलाई अझ आकर्षक बनाउने काममा आगामी दिनमा ध्यान केन्द्रित गरिनेछ । अझै पनि वेबसाइटमा पूर्ण विवरण राख्न सकिएको छैन, त्यसलाई आगामी दिनमा पूरा गर्दै लगिनेछ ।

 

ट) अक्षयकोष निर्माणको पहल

 

संघको पहलमा नेपाल पत्रकार महासंघसँगको सहकार्यमा वितरण गरिँदै आइएको र भविष्यमा वितरण गर्न सकिने पुरस्कार तथा सम्मानलाई लक्षित गरी नेपालमा २० हजार डलरबराबरको अक्षयकोष निर्माण गर्ने कार्यको सुरुवात भएको छ । यसका निम्ति नेजा र महासंघका बीचमा समेत आवश्यक सम्झौता गरिएको छ । 

 

३) संघमार्फत भएका गतिविधि तथा कार्यक्रमहरुः संघको यस कार्यसमितिले गएको एक वर्षमा गरेका गतिविधि तथा कार्यक्रमहरु यस प्रकार रहेका छन्- 

 

क) ड्यालासमा सामुदायिक छलफल 

संघका सल्लाहकारसमेत रहनुभएका पत्रकार सञ्जय घिमिरेद्वारा लिखित पुस्तक ‘पात्रहरु’ माथि अगस्त १५, २०२३ मा  ड्यालसमा छलफल आयोजना गरियो । नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरीको सहभागितामा भएको छलफलमा पात्रहरु पुस्तकमाथि चर्चा परिचर्चा गर्नुका साथै समुदाय र पत्रकारिताका सम्बन्धबारे सहभागीहरुले धारणा राख्नुभएको थियो । 

 

ख) संघका अध्यक्षको विभिन्न कार्यक्रममा सहभागिता 

संघका अध्यक्ष विकासराज न्यौपानेको नेपाल पत्रकार महासंघको सुर्खेतमा सम्पन्न साधारण सभामा सहभागिता रहेको थियो । त्यस्तै, महासंघको बाँके शाखाको साधारण सभामा समेत उहाँको सहभागिता रहेको थियो । महासंघले आफ्नो साधारण सभामा औपचारिक पत्र काटी नेजालाई आमन्त्रण गरेको थियो । केन्द्रीय साधारण सभाको क्रममा नेपाल गएको समयमा संघका अध्यक्ष न्यौपानेले पत्रकार महासंघको टोलीसँग नेपाल सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल र तत्कालीन गृहमन्त्री रवि लामिछानेसँग भेटवार्ता गर्नुभएको थियो । 

 

ग) नागरिकता विधेयकबारे अन्तरक्रिया

संघले नेपालको नागरिकता विधेयक विषयक अन्तरक्रिया कार्यक्रम न्युयोर्कमा फेब्रुअरी २५, २०२३ मा सम्पन्न गरेको थियो । सो अवसरमा नेपाल सरकारको न्यूयोर्कस्थित वाणिज्य दूतावासका अधिकारी, सामाजिक अभियन्ताहरु र संघका पदाधिकारी तथा पत्रकारहरुको सहभागिता रहेको थियो ।  

 

घ) टेक्ससका तीन सहरमा सामुदायिक अन्तरक्रिया

संघको १६औं साधारण सभा तथा आठौं अधिवेशनको सन्निकटमा ह्युष्टन, ड्यालास र अस्टिनमा  सामाजिक अभियन्ताहरुसँग भेटघाट तथा अन्तरक्रिया गरियो । सो अवसरमा पत्रकारिता र समुदायको सम्बन्धका सन्दर्भमा चर्चा गरिएको थियो । अन्तरक्रियामा सहभागीहरुले संघले समुदायको लागि खेलेको भूमिकाको प्रशंसा गर्नुभएको थियो ।  

 

ङ) बरालसँग अन्तरक्रिया

विश्व बैंकको कार्यक्रममा सहभागी हुनका लागि अमेरिका आउनुभएको समयमा नेपाल आर्थिक पत्रकार समाज (सेजन) का अध्यक्ष जनार्दन बरालसँग टेक्ससको युलेसमा अप्रिल २३, २०२३ मा संघको तर्फबाट भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न गरियो । सो अवसरमा नेपालको आर्थिक अवस्थाका बारेमा चर्चा र परिचर्चा गरिएको थियो ।