असोज २५, काठमाडौं ।

नेपाल अमेरिका पत्रकार संघ (नेजा) र नेपाल पत्रकार महासंघको संयुक्त आयोजनामा नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कार-२०२२ वितरण गरिएको छ । नेजाद्वारा हरेक दुई वर्षमा प्रदान गरिँदै आएको सो पुरस्कार यस वर्ष संयुक्त रुपमा दिलमाया शाही र कमला तामाङ “पाख्रिन” लाई प्रदान गरियो ।  पुरस्कार प्राप्त गर्ने शाही कर्णाली प्रदेशको जुम्लाबाट हुनुहुन्छ भने उहाँ सन्धान अनलाइनमा आबद्ध हुनुहुन्छ । यस्तै, पाख्रिन बागमती प्रदेशको सिन्धुपाल्चोकबाट हुनुहुन्छ भने उहाँ कान्तिपुर टेलिभिजनमा आबद्ध हुनुहुन्छ । 

कार्यक्रमका प्रमुख अतिथि एवम् उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ ले पुरस्कृतद्वयलाई बधाई दिँदै यो पुरस्कारले नेपालको ग्रामीण पत्रकारितालाई थप प्रोत्साहन प्रदान गरेको बताउँदै नेजालाई धन्यवाद व्यक्त गर्नुभयो । साथै, नेपालको राजनीतिक परिवर्तनमा नेपाली पत्रकारिता क्षेत्रले खेलेको भूमिकाको प्रशंसासमेत गर्नुभयो । 

यस्तै, नेपाल पत्रकार महासंघका अध्यक्ष बिपुल पोखरेलले पुरस्कृत पत्रकारलाई बधाई दिँदै नेजासँगको निरन्तर सहकार्यका लागि प्रतिबद्धता व्यक्त गर्नुभयो । पोखरेलले नेजा र महासंघबीचका सम्बन्ध भाषणमा होइन लिखित रुपमा सम्झौता गरेर अगाडि बढेका कारण सम्बन्ध मजबुत रहेको धारणा राख्नुभयो ।

यसैगरी, अध्यक्ष पोखरेलले पत्रकारिता क्षेत्रलाई मर्यादित र व्यवस्थित गर्न आमसञ्चार प्रतिष्ठानको आवश्यक्ता रहेको बताउँदै सञ्चारसम्बन्धी कानुनलाई पूर्णता दिनुपर्ने बताउनुभयो । कानुन निर्माण प्रकृयालाई सरल बनाई पत्रकारिताका सबै क्षेत्रलाई समेट्ने गरी कानुन निर्माण गर्न उहाँले सरकारको ध्यानाकर्षणसमेत गराउनुभयो ।

कार्यक्रममा मन्तव्यका क्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले नेजाले नेपाली पत्रकारिताको क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गर्दै नेपाली पत्रकारिताको समीक्षा गर्नुपर्ने बेला आएको बताउनुभयो । उहाँले पत्रकारले पत्रकारिताको सामान्य मूल्य-मान्यतालाई आत्मसात् गरी सत्यतथ्य समाचार सम्प्रेषण गरे मात्रै पनि पत्रकारितामा सुधार हुने बताउनुभयो । 

यसैगरी, नेजाका अध्यक्ष सुरज भण्डारीले पुरस्कृत व्यक्तित्वलाई बधाई दिँदै नेजा र महासंघबीचको सहकार्यलाई थप मजबुत बनाउन आफू तत्पर रहेको बताउनुभयो । यसैगरी, नेजाका पूर्वअध्यक्ष गौतम दाहालले धन्यवाद मन्तव्यका क्रममा नेजाले प्रवासमा रहेका नेपाली पत्रकार र नेपाललाई जोड्नका लागि नेजाले महत्वपूर्व भूमिका निर्वाह गरेको बताउनुभयो । पूर्वअध्यक्ष दाहालले नेजा र महासंघबीचको सम्बन्ध र सहकार्य नेपाल र अमेरिका जोड्ने सेतुको रुपमा रहेको बताउनुभयो । 

नेपाल पत्रकार महासंघका महासचिव रोसन पुरीले नेजाले पत्रकारिता पुरस्कार मात्रै नभएर पत्रकारहरु बिरामी पर्दा र प्राकृतिक विपत्तिमा पनि नेपाली पत्रकारिता क्षेत्रलाई सहयोग गर्दै आएको बताउनुभयो । महासचिव पुरीले श्रमजीवी पत्रकार ऐनसहितका सञ्चार सम्बन्धी कानुनको पूर्ण कार्यान्वयन नहुँदा पत्रकारहरु पारिश्रमिकबाट वञ्चित हुनुपरेको बताउँदै पत्रकारहरुलाई सञ्चारमाध्यमले आफ्नो स्वार्थका लागि प्रयोग गरिरहेको भन्दै उहाँले सरकारको ध्यानाकर्षणसमेत गराउनुभयो ।

कार्यक्रममा पुरस्कार छनोट समितिका संयोजक एवं नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष गोविन्द आचार्य, महासंघका सल्लाहकार निर्मला शर्मा, न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष संगीता खड्कालगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा नेजाका महासचिव बाबुराम दाहालले पुरस्कारको बारेमा प्रकाश पार्नुका साथै पुरस्कृत पत्रकारलाई बधाई दिँदै नेजाले नेपालको पत्रकारितामा गर्दै आएको साथ र सहयोग आगामी दिनमा पनि जारी रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

कार्यक्रममा नेजाका कोषाध्यक्ष जानु पङ्गेनी, मध्य क्षेत्रीय संयोजक रोशन अधिकारी, नेजाका मानार्थ सदस्य तारा बराल, पूर्वकोषाध्यक्ष बिटु केसी, नेपाल पत्रकार महासंघ, बेल्जियम शाखाका अध्यक्ष ओम शर्मा, अग्रज पत्रकार एवं नेपाल पत्रकार महासंघ, युके शाखाका सल्लाहकार भागीरथ योगी, वरिष्ठ पत्रकार एवं भाषाविद् शरच्चन्द्र वस्ती, नेपाल पत्रकार महासंघका कोषाध्यक्ष एवं नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कार विजेता कलेन्द्र सेंजुवाल, अर्का पुरस्कार विजेता कुम्भराज राई, महासंघका अन्य पदाधिकारीलगायत विभिन्न सञ्चारमाध्यममा आबद्ध पत्रकारहरूको सहभागिता रहेको थियो ।  

“नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कार” सन् २०११ मा स्थापना गरी सन् २०१२ बाट वितरण सुरु गरिको हो । सुरुवातमा सो पुरस्कारको राशि १ लाख ११ हजार १ सय ११ रुपैयाँ ११ पैसा रहेको थियो भने सन् २०१८ बाट सो पुरस्कारको राशि दुई गुणा गरिएको हो । नेपालको ग्रामीण क्षेत्रमा रहेर पत्रकारिता गरिरहनुभएका पत्रकारहरूलाई प्रोत्साहन र उत्कृष्ट रिपोर्टिङका लागि थप प्रेरणा मिलोस् साथै समग्र रुपमा नेपालको पत्रकारिता क्षेत्रलाई नै प्रोत्साहन मिलोस् भन्ने उद्देश्यले नेजाले सो पुरस्कारको व्यवस्था गरेको हो ।

नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले नेपाल पत्रकार महासंघसँगको सहकार्य र समन्वयमा प्रदान गर्दै आएको सो पुरस्कार पहिलो पटक सन् २०१२ मा मकवानपुरमा रहेर पत्रकारिता गर्नुहुने प्रताप विष्टलाई प्रदान गरिएको थियो भने दोस्रो पटक सन् २०१४ मा सुर्खेतमा रहेर पत्रकारिता गर्दै आउनुभएका कलेन्द्र सेंजुवाललाई प्रदान गरिएको थियो । यसैगरी, सन् २०१६ मा जाजरकोटका पत्रकार जनक केसीलाई प्रदान गरिएको थियो भने सन् २०१८ मा ओखलढुंगाका पत्रकार कुम्भराज राईलाई प्रदान गरिएको थियो । यस्तै, सन् २०२० मा रसुवाकी पत्रकार अनु आचार्यलाई प्रदान गरिएको थियो ।