बोस्टन, अमेरिका ।

नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले म्यासाच्युसेट्स राज्यको न्यू इङल्यान्डवासीबीच छलफल गरेको छ । नेजाले १७औं साधार सभा मे महिनाको २५-२६, २०२४ मा अमेरिकाको ऐतिहासिक सहर बोस्टनमा गर्ने निर्णय गरेसँगै तयारीको सुरुवातका रुपमा सो छलफल गरेको हो । १७औं साधारण सभालाई मध्यनजर गर्दै कार्यक्रम हुने क्षेत्रमा क्रियाशील नेपाली समुदाय आबद्ध स्थानीय संघ-संस्थाहरूसँग मार्च २ तारिख शनिबार भर्चुल रूपमा छलफल गरेको हो ।

स्थानीय संघ-संस्थाहरूको सहयोगी भूमिकाको अपेक्षाका साथ नेजा र समुदायबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने, कार्यक्रमको बारेमा औपचारिक जानकारी दिने र समुदायका तर्फबाट अमूल्य सुझाव लिने मुख्य उद्देश्यले नेजाले छलफल कार्यक्रमको आयोजना गरेको हो । छलफलमा सहभागी संघ-संस्थाहरूले नेजाको १७औं साधारण सभा सफल बनाउन आवश्यक पर्ने सहयोगको प्रतिबद्धता जाहेर गर्नुभएको थियो । छलफलका क्रममा सहभागीहरूले प्राथमिकता दिएर नेजाको १७औं साधारण सभा बोस्टनमा गर्ने निर्णय गरिनु यस क्षेत्रमा सक्रिय संघ-संस्थाहरू र समग्र नेपाली समुदायकै लागि अमूल्य अवसर भएको प्रतिक्रया दिँदै खुसी व्यक्त गर्नुभएको थियो ।

कार्यक्रमको मुख्य उद्देश्यहरूमा केन्द्रीकृत हुँदै महासचिव बाबुराम दाहालद्वारा सहजीकरण गरिएको छलफलमा नेजा अध्यक्ष सुरज भण्डारीले नेजाको संक्षिप्त पृष्ठभूमिसहित संस्थागत परिचय प्रस्तुत गर्दै सहभागीहरूलाई नेजाको १७औं साधारण सभाका बारेमा औपचारिक जानकारी गराउनुभएको थियो । छलफल कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष भण्डारीले साधारण सभा सफलतापूर्वक सम्पन्न गर्न सबैको साथ र सहयोग नेजाका लागि अमूल्य र अपरिहार्य रहेको बताउनुभयो । उहाँले न्यू इङल्यान्ड  क्षेत्रमा सक्रिय नेपाली संघ-संस्थाहरूको क्रियाकलापबाट नेजा निकै प्रभावित भएको र संस्थाको महत्वपूर्ण कार्यक्रम ‘१७औं वार्षिक साधारण सभा’ बोस्टनमा नै गर्ने निर्णय गरिएको उल्लेख गर्नुभयो । बोस्टनमा कार्यक्रम गर्ने निर्णय गरेसँगै नेजा परिवारमा थप उत्साह जागेको बताउँदै अध्यक्ष भण्डारीले कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न आवश्यक साथ र सहयोगका लागि स्थानीय संघ-संस्थामा आबद्ध नेपाली समुदायसँग अपिलसमेत गर्नुभएको थियो। नेजाका उपाध्यक्ष सुजन पण्डितले न्यू इङल्यान्ड क्षेत्रमा सक्रिय संघ-संस्थाहरूले समुदायका लागि पुर्याउँदै आएको योगदान र नेजासँग स्थापित आत्मीय सम्बन्धको प्रशंसा गर्नुभएको थियो। उहाँले नेजा पनि नेपाली समुदायको उत्थानका लागि नेपाली समुदायसँग हातेमालो गर्दै अघि बढिरहेको र यस अभियानलाई अझ प्रभावकारी बनाउन लागिपरिरहेको बताउनुभयो । उपाध्यक्ष पण्डितले सहभागीहरुबाट प्राप्त अमूल्य सुझावहरू र सहयोगको प्रतिबद्धताप्रति खुसी व्यक्त गर्दै धन्यवाद दिनुभयो ।

कार्यक्रममा नेजाका उत्तर-पूर्व क्षेत्रीय संयोजक एवम् १७औं साधारण सभा आयोजक समितिका संयोजक सुपेन्द्र बस्नेतले सहभागीहरूलाई स्वागत गर्दै छलफल कार्यक्रमको उद्देश्यका बारेमा प्रकाश पार्नुभएको थियो । संयोजक बस्नेतले कार्यक्रमका बारेमा संघ-संस्थाहरूले देखाएको चासो, चिन्ता, छलफलमा जनाइएको सक्रिय सहभागिता र व्यक्त प्रतिबद्धताको प्रशंसा गर्दै धन्यवाद व्यक्त गर्नुभयो । बस्नेतले स्थानीय संघ-संस्थाको साथ र सहयोगमा कार्यक्रम सफलतापूर्वक सम्पन्न हुनेमा आफू र आफ्नो संस्था विश्वस्त रहेको बताउँदै तयारीका थप गतिविधि संघ-संस्थाहरूकै साथ सहयोगमा अघि बढाइने बताउनुभयो ।

कार्यक्रममा गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, अमेरिकाका उपाध्यक्ष प्रेम तामाङ, पूर्वसल्लाहकार दीनबन्धु भट्ट, बिजय शर्मा, एनआरएनए, अमेरिका, म्यासाच्युसेट्स च्याप्टरका अध्यक्ष प्रचण्ड श्रेष्ठ, उपाध्यक्ष राजु गुरुङ, न्यू ह्यामसायर च्याप्टर अध्यक्ष कमल ढुंगाना, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रीय अध्यक्ष गोबर्धन पूजा, म्यासाच्युसेट्स च्याप्टर अध्यक्ष महेश्वर पन्त, ग्रेटर बोस्टन नेपाली कम्युनिटी (जीबीएनसी-GBNC) की अध्यक्ष अन्जु थापा, महासचिव सोनाम शेर्पा, प्रवासी नेपाली मञ्च, अमेरिकाका केन्द्रीय उपाध्यक्ष भीम प्रकाश ओली, पशुपतिनाथ बुद्ध फाउन्डेसन अफ न्यू इङल्यान्ड (प्याब्फोन-PABFONE)का ट्रष्टी उपाध्यक्ष मिलन गुरुङ, कार्यसमितिका उपाध्यक्ष मिलनकुमार कार्की, नेपाली वोमन्स ग्लोबल नेटवर्क (एनडब्लूजीएन-NWGN)की अध्यक्ष कल्पना श्रेष्ठ, ब्लड डोनर्स अफ अमेरिकाको म्यासाचुसेट्स च्याप्टर अध्यक्ष राम थापा, बोस्टन तमु समाजका पूर्वअध्यक्ष मीन गुरुङ, वर्तमान कार्यसमितिका उपाध्यक्ष रोबिन गुरुङ, नेवा अर्गनाइजेसन अफ न्यू इङल्यान्डका अध्यक्ष सन्जीव तुलाधर, खेलकुद (Khelkud Inc) का अध्यक्ष रन्जन दाहाल, मिडिया क्षेत्रमा सक्रिय शिव मिश्र, नेजा क्षेत्रीय संयोजक (उत्तर) रोशन अधिकारी, नेजाका पूर्वकार्यसमिति सदस्य दिनेश कार्कीलगायतको सहभागिता रहेको थियो।