टेक्सास, अमेरिका ।

यही सेप्टेम्बर १०, २०२३ का दिन टेक्सासको डालसमा नेजाले एक कार्यक्रमको आयोजना गरी अमेरिकाको बसाइलाई छोट्ट्याएर नेपाल फर्कन लाग्नुभएका पत्रकारिता क्षेत्र तथा नेजाका अग्रज एवम् सम्मानित व्यक्तित्व तारा बराल र बिटु केसीलाई शुभेच्छा एवम् सम्मान गरेको छ । गोरखापत्र दैनिकमा प्रधान सम्पादक र नेपाल टेलिभिजनमा अध्यक्षको भूमिका निर्वाह गरिसक्नुभएका पत्रकारिता क्षेत्रका अग्रज व्यक्तित्व एवं नेपाल अमेरिका पत्रकार संघ (नेजा) का मानार्थ सदस्य अनि हिमालय खबर अनलाइनका सल्लाहकार सम्पादक तारा बराल र नेपाल अमेरिका पत्रकार संघ (नेजा) का पूर्वकोषाध्यक्ष एवम् प्रवासमा रहेर पनि नेपाली साहित्यको क्षेत्रमा सक्रिय व्यक्तित्व बिटु केसी लामो समयको अमेरिका बसाइलाई छोट्ट्याउँदै पुनः नेपाल फर्कन लाग्नुभएको हो । 

कार्यक्रममा बोल्दै नेजाका मानार्थ सदस्य बरालले अमेरिका बसाइका क्रममा आफूले सिकेका ज्ञान, सीप र अनुभवलाई नेपालमा उपयोग गर्ने बताउनुभयो । नेजाको स्थापनादेखि नै आफू संलग्न भएको बताउँदै बरालले नेजा आफ्नै संस्था भएको बताउनुभयो । उहाँले नेजाको भूमिका अमेरिकामा रहेको नेपाली समुदायको लागि महत्त्वपूर्ण भएको बताउँदै आफ्नो तर्फबाट सदैव साथ रहने बताउनुभयो । यसैगरी, नेजाका पूर्वकोषाध्यक्ष केसीले आफू जहाँ रहे पनि नेजा आफ्नै संस्था रहेको बताउनुभयो । बराल दम्पती सन् २००४ देखि अमेरिकाको टेक्सास राज्यको ह्युस्टन सहरमा बसोबास गर्दै आउनुभएको छ ।

यसैगरी, नेजाका अध्यक्ष सुरज भण्डारीले नेजाका मानार्थ सदस्य बराल र पूर्वकोषाध्यक्ष केसीले नेजाको विकास र विस्तारमा पुर्याउनुभएको योगदानको उच्च कदर गर्दै आगामी दिनमा नेपालमा बसे पनि नेजाप्रतिको सहयोगमा कुनै कमी नहुनेमा आफू विश्वस्त रहेको बताउनुभयो । यसैगरी, नेजाले पत्रकारिता क्षेत्रका अग्रज एवं नेजाका मानार्थ सदस्यको रुपमा तारा बराललाई सम्मान-पत्र प्रदान गरेको थियो भने पूर्वकोषाध्यक्ष बिटु केसीलाई मायाको चिनो प्रदान गरेको थियो ।

कार्यक्रममा पत्रकारिता क्षेत्रका अग्रज व्यक्तित्व एवं नेजाका मानार्थ सदस्य योगेश उपाध्याय, नेजाका निवर्तमान अध्यक्ष विकासराज न्यौपाने, नेजाका सल्लाहकार सञ्जय घिमिरेले बराल दम्पतीलाई शुभकामना एवं शुभेच्छा प्रकट गर्नुभएको थियो । यस्तै, कार्यक्रममा नेजाका उपाध्यक्ष सुजन पण्डितले बराल दम्पतीका बारेमा प्रकाश पार्नुभएको थियो । यसैगरी, नेजाका महासचिव बाबुराम दाहालले कार्यक्रम सञ्चालन गर्दै नेजाका अभिभावक बराल दम्पतीको नेपालको बसाइलाई सुखदको कामना गर्दै विश्वको विकसित देशको सिस्टम र यहाँ बस्दा आफूले आर्जन गर्नुभएको ज्ञान, सीप, अनुभवलाई आफ्नो जन्मभूमि नेपाल फर्किएर त्यहाँको विकास र समृद्धिका लागि भरपुर उपयोग गर्नुहुनेमा नेजा र आफू विश्वस्त रहेको बताउनुभयो । यसैगरी, कार्यक्रममा नेजाका मध्यक्षेत्रीय संयोजक शंकर थापाले स्वागत मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा नेजाका पूर्वक्षेत्रीय संयोजक एवं रिपोर्टर्स क्लब अमेरिकाका अध्यक्ष किसन रेग्मी, पूर्वकार्यसमिति सदस्य लेखनाथ गौतम, नेजाका सदस्य एवं पत्रकारहरू विनय देवकोटा, हरि सुवेदी, तारा रावल, बिमल (पूर्णचन्द्र) बराल, मालिका केसरी (प्रकाश श्रेष्ठ), नेजाका सदस्य एवं एनआरएनए अमेरिकाका युवा संयोजक तेज (बिनोद) पौडेल, शिव शर्मालगायतको उपस्थिति रहेको थियो । तस्बिर सौजन्यः रिपोर्टर्स क्लब अमेरिका ।