टेक्सस, अमेरिका ।

नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टको प्रमुख आतिथ्य तथा नेजाका अध्यक्ष सुरज भण्डारीको अध्यक्षतामा पत्रकार तथा समुदायबीच अन्तर्क्रिया कार्यक्रम गरेेको छ । नेजाद्वारा आयोजित सो कार्यक्रम जुन ३, २०२३ शनिबार डालसमा सम्पन्न भएको हो । 

पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष विष्टले आगामी दिनमा नेजासँगको सहकार्य अझै मजबुत हुँदै जाने बताउनुभयो । ‘पत्रकार महासंघ र नेजाबीचको सहकार्यलाई निरन्तरता दिँदै परिष्कृत माध्यमका साथ थप नयाँ कार्यक्रमकासहित सहकार्यलाई अगाडि बढाइने छ,’ विष्टले भन्नुभयो । उत्तर अमेरिकामा रहेका नेपाली समुदायका लागि नेजा अभिन्न अंग भएको विष्टले बताउनुभयो । ‘सामाजिक सञ्जालको बढ्दो हावीलाई मिडियालाई व्यवस्थित बनाउँदै समुदायमा वास्तविक सूचना प्रवाह गर्न नेजाले पहल गर्नुपर्छ,’ विष्टले भन्नुभयो, ‘अब नेजाले समुदायमाझ वास्तविक मिडिया र सूचनाको बारेमा प्रस्ट पार्दै महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ ।’ नेजा र समुदायबीचको सहकार्य मजबुत भएको खण्डमा मिडियामा आउने गलत समाचारले स्थान नपाउने बताउनुभयो । 

यसैगरी, नेजा अध्यक्ष सुरज भण्डारीले नेजा र पत्रकार महासंघ एकअर्काबीच अभिन्न सहयात्री भएकाले यी दुई संस्थाबीचको सहकार्य थप मजबुत हुने बताउनुभयो । ‘नेजामार्फत नेपाल जोडिनका लागि पत्रकार महासंघ एक मात्र संस्था भएको हुँदा नेजा र महासंघबीचको सहकार्य अझै बलियो हुँदै निरन्तर अघि बढ्छ,’ अध्यक्ष भण्डारीले भन्नुभयो । अमेरिकामा रहेका पत्रकार एवं मिडियाहरूसँगको सहाकार्यलाई मजबुत बनाउने पनि बताउनुभयो ।

   

यसैगरी, नेजाका उपाध्यक्ष सुजन पण्डितले स्वागत मन्तव्यका क्रममा नेजाले उत्तर अमेरिकामा रहेका पत्रकार र नेपाली समुदायको हितमा काम गर्दै नेपाल पत्रकार महासंघमार्फत नेपाली पत्रकारितालाई सहयोग गर्ने बताउनुभयो । यस्तै, कार्यक्रम सञ्चालनका क्रममा नेजाका महासचिब बाबुराम दाहालले नेजालाई प्रविधिमैत्री बनाउँदै अमेरिकामा रहेका पत्रकारको हितअनुकूल काम गर्ने बताउनुभयो । पुरानो शैलीबाट माथि उठ्दै प्रविधिको प्रयोगबाट पत्रकार एवम् समुदायलाई सुसूचित बनाउन लागिपर्ने  महासचिव दाहालले बताउनुभयो । 

कार्यक्रममा युलेस सिटीका काउन्सिल मेम्बर टिका पौडेलले नेजा र समुदायबीचको आपसी सहकार्यले नेपाली समुदाय बलियो हुने बताउँदै नेपाली कला संस्कृतिमार्फत नेपाललाई विश्वमा परिचित गराउनुपर्ने बताउनुभयो । 

यसैगरी, कार्यक्रममा नेजाका पश्चिम क्षेत्रीय संयोजक रोशन अधिकारी, समुदायका अग्रज व्यक्तित्व शैलेश आचार्य, प्रभात दीक्षित, नेपाली समाज टेक्ससका काबा अध्यक्ष जनक भण्डारी, महासचिव सन्देश उप्रेती, बीडीए टेक्ससका संयोजक अजय बगाले, ईन्द्रेणी सांस्कृतिक संघका अध्यक्ष नेत्र पाण्डेले मन्तव्य दिनुभएको थियो । यस्तै, नेजाका पूर्वक्षेत्रीय संयोजक एवं यूएस खबरका प्रधानसम्पादक किशन रेग्मी, नेजाका पूर्वक्षेत्रीय संयोजक एवं हिमालय खबरका सम्पादक रामचन्द्र भट्ट, रिपोर्टर्स क्लब अमेरिकाका महासचिव ओम आचार्य, अनेसास डीएफडब्लू च्याप्टर पूर्वअध्यक्ष कपिल अधिकारी, युनाइटेड नेप्लिज एसोसिएसनका अध्यक्ष भक्तबहादुर भण्डारी, समाजसेवीहरू मधुर खरेल,  गुन्जन भण्डारी, लक्ष्मी उप्रेती, अञ्जु अर्याल, पत्रकारहरू गोपाल गर्तौला, प्रकाश श्रेष्ठलगायत वक्ताहरुले अमेरिकामा नेपाली समुदाय र नेपाली मिडियाको बारेमा चर्चा गर्नुभएको थियो । यसैगरी, उपस्थित अतिथिहरूले नेजालाई सबैको नेजा बनाउन नयाँ कार्समितिलाई अनुरोध गर्नुभएको थियो । यस्तै, कार्यक्रममा नेपाली समुदाय र विभिन्न सञ्चारमाध्यममा आबद्ध पत्रकारहरूको सहभागिता रहेको थियो ।