जुन २७, लसएन्जल्स ।

नेपाल अमेरिका पत्रकार संघ (नेजा)ले जुन २७, २०२३ सोमबार क्यालिफोर्नियाको लसएन्जल्स वरपर सामाजिक संघ-संस्थामा क्रियाशील अभियन्ताहरूसँग अन्तरक्रिया सम्पन्न गरेको छ ।

सामाजिक अभियन्ता तथा पत्रकारबीच गरिएको अन्तरक्रियामा सहभागीहरूले नेपाली समुदायको निम्ति पत्रकारहरूको भूमिका प्रशंसनीय रहेको उल्लेख गर्नुभयो ।

उहाँहरूले कतिपय समाचार सामग्री प्रचारजस्तो मात्र देखिने गरेको उल्लेख गर्नुहुँदै त्यसले वास्तविक पत्रकारिताको मर्मलाई मार्ने काम गरेको औ‌ंल्याउनुभयो । तथ्यमा आधारित पत्रकारिता गर्न र समुदायलाई एकताबद्ध बनाउन अझ सक्रियतापूर्वक भूमिका खेल्न सामाजिक अभियन्ताहरूले जोड दिनुभयो । कार्यक्रममा सहभागीहरूले नेजाले समुदाय र पत्रकारलाई जोड्ने सेतुको रूपमा काम गर्नुपर्नेमा धारणा राख्नुभयो ।

सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि एवं नेपाल सरकारका महावाणिज्यदूत ऋषि ढकालले नेजा र नेजा सम्बद्ध पत्रकारहरूले समुदायका लागि खेल्दै आउनुभएको भूमिकाको प्रशंसा गर्नुहुँदै समुदाय एवं नेपालका लागि संस्थागत ढंगबाट नेजाबाट अझ बढी योगदान हुने विश्वास आफूले लिएको बताउनुभयो ।

सो अवसरमा नेपाल अमेरिका पत्रकार संघ (नेजा)का अध्यक्ष सुरज भण्डारीले पत्रकार, सामाजिक संघ-संस्था र सामाजिक अभियन्ताहरूलाई जोड्ने कार्य नेजाले गर्दै आएको बताउनुभयो । सम्भव भएसम्म नेपाली संघ-संस्थाको सक्रियता रहेका सबै राज्य र सहरमा नेजाले अन्तरक्रिया गर्दै जाने अध्यक्ष भण्डारीले उल्लेख गर्नुभयो । 

सो अवसरमा नेजाका आजीवन सदस्य तथा श्री पशुपतिनाथ फाउन्डेसन, यूएसएका अध्यक्ष रामेश्वर भण्डारी, हामी नेपाली ग्लोबल अन्तर्राष्ट्रिय समितिका अध्यक्ष अमृत लामा, एनआरएनए अमेरिकाका बोर्ड अफ डाइरेक्टर ज्ञानेन्द्र गुरुङ, एनआरएनए अमेरिका, क्यालिफोर्निया च्याप्टरका अध्यक्ष एकदेव शर्मा, एनआरएनए अमेरिका, न्युयोर्क च्याप्टरका  उपाध्यक्ष शोभाकान्त पाण्डे, श्री पशुपतिनाथ फाउन्डेसन, यूएसएका महासचिव सिद्धार्थ सिलवाल, तामाङ सोसाइटी, नर्थ अमेरिकाका वरिष्ठ उपाध्यक्ष टेक वाइबा लामा, नेवा अर्गनाइजेसन, लस एन्जल्सका पूर्वअध्यक्ष बिमल श्रेष्ठ, हामी नेपाली ग्लोबल, अमेरिकाका अध्यक्ष ईन्दिरा त्रिपाठी, एनआरएनए अमेरिका, क्यालफोर्नियाका सल्लाहकार रामचन्द्र लामिछाने, एनआरएनए पूर्वआईसीसी सदस्य दिल श्रेष्ठ, सामाजिक अभियन्ता इन्द्रराज पाण्डे, नेपाल अमेरिका एकता समाजका उपाध्यक्ष अर्जुन पौडेल, हामी नेपाली ग्लोबल, अमेरिकाका सचिव सूर्य सिम्खडा, सामाजिक अभियन्ता लाकेश श्रेष्ठ, सुदूर पश्चिम समाज, लस एन्जल्सका हेम ठकुल्ला, सामाजिक अभियन्ता विनोद चापागाईं, एफ वन समूहका संस्थापक विष्णु सुवेदी, समाजिक अभियन्ताहरू माधव पाण्डे, देविका पाण्डे, रामशरण पाण्डेलगायतको उपस्थिति रहेको अन्तरक्रियामा नेजामार्फत सबै सञ्चारकर्मीमाझ पुग्न सकिने गरी कार्य अघि बढाउन सहभागीहरूको सुझाव थियो ।

नेजाका अध्यक्ष सुरज भण्डारीको अध्यक्षतामा सञ्चालित अन्तरक्रियाको संयोजन नेजाका पश्चिम क्षेत्रीय संयोजक रोशन अधिकारीले गर्नुभएको थियो । कार्यक्रममा सहभागीहरूलाई धन्यवाद दिनुहुँदै क्षेत्रीय संयोजक अधिकारीले अन्तरक्रियाले समुदाय र पत्रकारबीच सम्बन्ध बढाउन महत्त्वपूर्ण भूमिका खेल्नेमा जोड दिनुभयो । यसैगरी, नेजाका विधान समिति संयोजक अग्नि चौलागाईंले सहभागीलाई स्वागत गर्नुभएको थियो भने नेजा सदस्य उत्तम धमलाले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

अन्तरक्रियामा सहभागी नेजा सदस्यहरू उपेन्द्र सापकोटा, सुभाष कार्की, सञ्चारकर्मी प्रस्मिता शर्मालगायत पत्रकारले कहिलेकाहीं समुदायले अपेक्षा बढी गर्ने तर परिस्थितिवश अपेक्षाअनुरूप काम पत्रकारबाट हुन नसकिरहेको हुँदा समुदायले परिस्थितिलाई बुझेर सम्भव भएसम्म कार्यक्रमको विवरण पत्रकारलाई उपलब्ध गराइदिएमा अति उपयोगी हुनेमा जोड दिनुभयो ।

सो अवसरमा नेपाल सरकारका महावाणिज्यदूत ऋषि ढकाल र श्री पशुपतिनाथ फाउन्डेसनलाई अध्यक्ष रामेश्वर भण्डारीमार्फत नेजाले मायाको चिनो प्रदान गरेको थियो ।